रामचन्द्र ढकाल ‘आर.सी.अज्ञात’ ( भरतपुर–६ ,इन्द्रपुरी ,चितवन, हाल पुतली बजार–१४, सतौं, स्याङ्जा, सुपुत्र : नन्दप्रसाद ढकाल र ईश्वरी ढकाल) नेपाली साहित्यका युवा प्रतिभा हुन् । उनी मूलतः कवि प्रतिभा हुन् । उनको सन्ताप (२०७९) खण्डकाव्य कृति प्रकाशित छ । विभिन्न पत्रपात्रिकामा उनका रचना प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृृङ्खलामा उनको ‘सन्ताप’ शीर्षकको कविता समेटिएको छ । शिखरिणी छन्दमा संरचित यस कविताले कुलतमा फसेका युवाहरू समाजका समस्या बन्न थालेको पक्ष उजागर गरेको छ । कुलतको सन्तापले समाज तहसनहस हुँदै गएको पक्ष उद्घाटित छ । |
बनेका छन् स्वार्थी अटुट किन हो मानव अति
धनी बन्ने तृष्णा कलुष मनमा मत्सर मती
फिँजाए छन् ज्यादै कुलत मदिरा रोग जनमा
कडा बन्न्न् मान्छे मधुर करुणा छैन धनमा !
म हेरूँ च्याती यी सकल जनको लालच दशा
बिकेका पैसामा अवनिभरि छन् पातक नशा
ठुला छन् खोलेका अभयसित उद्योग मदिरा
गयो पर्दै पर्दै तरुण वयको जीवन चिरा !
नशा सिक्दै खाँदा मुलुकभर रोगी अधिक छन्
हरायो मान्छेमा नरम मृदुता कारुणिक झन्
तमासा हेरेका कुटिल सरकारी पद बसी
मुनाफा लिन्छन् यी अति कर उठाई मद फसी !
सिकी खाएँ मैले पसल रहँदा गाउँघरमा
नफैलाऊँ भन्दै बिच सडक एक्लै सहरमा
मरूँ इच्छा जाग्ने विवश नबनूँ देख्न म अरू
मझैँ फस्लान् भन्ने गम छ मनमा बालकहरू !
जपी पैसा भन्दै अधिक जन बेच्छन् विष किन
म मर्ने बेलामा किन सकिन सच्चेतन दिन
झुटो आफैँ एक्लो विकल विचरा दीन बबुरो
मलाई को बुझ्ने व्यसन मतिको जीर्ण फतुरो !
थला पर्दै जाँदा सजल दृग पोलेर बहँदा
विषादी बेच्दै छन् यति विवश आसन्न रहँदा
छु बस्दै आशामा कुलत विष होला र मधुरो
रहेको यो मेरो हृदयभरि सन्ताप अधुरो !!