विद्यार्थीले पहिलो पठन प्रभाव कक्षामा पढ्ने पाठ्यपुस्तकबाट लिन्छन् । त्यस्तो पाठ्यपुस्तक पाठ्यक्रमका उद्देश्य प्राप्तीका लागि आधार सामग्री हो । यो विद्यार्थीको मूल पाठ्य सामग्री हो । शिक्षकको पनि आधार सामग्री पाठ्यपुस्तक नै हो । यस्तो विषयलाई जोसुकैलाई लेख्न मिल्ने गरी र जुनसुकै प्रकाशकले प्रकाशन गरेर व्यापार गर्न पाउने गरी राज्यले छोडिदिएको छ । यसको अर्थ धेरै भन्दा धेरै लेखक जन्मिऊन् । नयाँ नयाँ सामग्रीको खोज होस् । प्रकाशकहरूलाई पनि उत्साह मिलोस् । ती समग्र पाठ्यपुस्तक सङ्कलन गरेर हेर्ने हो भने राज्यलाई केही मार्गदर्शन होस् भन्ने आशय हो । यद्यपि यस क्षेत्रले त्यस्तो रचनात्मक अभ्यास र बौद्धिक प्रतिष्पर्धा भन्दा पनि विकृत अवस्था प्रदर्शन गरिरहेको छ । त्यसमा पनि नेपाली विषयका पाठ्यपुस्तकहरू कमजोर देखिन थालेका छन् । यो निकै गम्भीर विषय हो ।
आज नेपाली विषयका विद्यालय तहका पाठ्यक्रममा तहअनुसारका सामग्रीको अभाव हुँदै गएको छ । तिनले एकातिर साहित्यमा जीवन अर्पण गर्ने महान् स्रष्टाका रचना छोडिरहेका छन् भने अर्कातिर सामाजिक सद्भावमा पनि त्यति ध्यान दिन सकेका छैनन् । कुनै विधामा विशिष्ट योगदान दिइसकेको स्रष्टालाई छानेर उसको उत्कृष्ट कृतिलाई पाठ्य सामग्री बनाउनु स्रष्टाको सम्मान मात्र होइन शैक्षिक जगत्कै सम्मान हो । यस्तो कार्य विषय र पाठ्यक्रमकै सम्मान हो । सर्वेक्षणात्मक अध्ययन गर्दा आज त्यसो भइरहेको छैन । चिनजान र जानीनजानी पाठ्यपुस्तक लेखक नै रचना लेखेर पाठ्यपुस्तकमा समेटिरहेका छन् । एउटा पनि बालकविता वा बालकथा प्रकाशन नगरेका मानिसका रचना विद्यालयका पाठ्यपुस्तकमा देखिन थालेका छन् । यो पटक्कै राम्रो लक्षण होइन ।
नेपालको पाठ्यक्रममा त्यो पनि नेपाली भाषाको पाठ्यक्रममा कतिको नेपाली पन छ ? यो पनि एउटा जिज्ञासाको र खबरदारीसमेतको विषय हो । पाठ्यक्रमले धेरै भन्दा धेरै ज्ञान र सिपका पक्ष समेट्ने प्रयास गरेको हुन्छ । पाठ्यक्रमअनुसार तयार पारिने नेपाली पाठ्यपुस्तकमा रैथाने सिप, कला, ज्ञान, लोकसाहित्यको संयोजन आवश्यक छ । पूर्वीय मूल्यमान्यता, विचार र परिवेशको पनि संयोजन आवश्यक हुन्छ । हामीले कतै आधुनिकता र उत्तरआधुनिकताका नाममा पाश्चात्य पाठ्यक्रम र नियम एवम् पद्धति कपी पेस्ट गरेर अबलम्बन पो गरिरहेका छौँ कि ? आजका पाठ्यपुस्तकले पनि आफ्नाभन्दा आयातीत मान्यता, विचार र परिवेश पो पछ्याउन थालेका छन् कि भन्ने आभास हुन्छ । यो भावी पुस्ताका बौद्धिक विकासका लागि खतराको सङ्केत हो ।
पाठ्यपुस्तक सम्बन्धित तहको पाठ्यक्रमअनुसार बालबालिकाको ज्ञान, सिप, क्षमताका साथै व्यक्तित्व विकास र आत्मबल बढाउने आधार सामग्री हो । बालबालिकाको मानसिक विकासमा एउटा रचनाको, त्यसका पात्रको र परिवेशको प्रभाव दीर्घकालसम्म परिरहन्छ । भाषा पाठ्यपुस्तक मात्र होइन सामाजिक, स्वास्थ्य र अन्य विषयका पाठ्यपुस्तकमा पनि राखिने रामग्रीमा पाठ्यपुस्तक लेखक निकै गम्भीर हुन आवश्यक छ । स्थानीय तहको पाठ्यक्रम बनाउँदा अझ होसियारी अपनाउनुपर्ने हुन्छ ।
विद्यालय तहका पाठ्यपुस्तक विशेषज्ञबाट तयार पारिने विश्वास गरिन्छ । ती खँदिला, गहकिला र व्यवहारिक हुनुपर्छ । तिनको भाषा र रचना चयन पक्ष पनि बालसुलभ हुन आवश्यक छ । आज त्यसो हुनु भन्दा पनि पाठ्यपुस्तक पल्टाउँदा पाठ्यपुस्तक नभई साहित्यका बटुला जस्ता बन्दै गएका छन् । रचनाको गुणस्तर र उपादेयताभन्दा आफ्ना नजिकका लेखकका रचना पो राख्न थालिएको छ । यो नेपालको शिक्षानीति र बालबालिकाको भविष्य दुवैलाई कमजोर बनाउने प्रवृत्ति हो । त्यसमा पनि मूल माध्यम भाषाको पाठ्यपुस्तक लेखनको हेलचेक्रयाइँ नेपाली आस्थामाथिको प्रहारसमेत हो ।
बालसाहित्य लेखन कलात्मक लेखनका साथै प्राविधिक लेखन पनि हो । प्रौढ साहित्य लेखन भन्दा बालसाहित्य लेखन गर्दा लेखकले बालमनोविज्ञान, बालबोध्य शब्दभण्डार र अरू धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । बालसिर्जना हेर्दा लघु र सरल सिर्जना हुन्छ तर यसको लेखन प्रक्रिया जटिल हुन्छ ।बालसाहित्यकारले शब्द शब्द र तिनले दिने अर्थ अर्थलाई तौलिई तौलिई पाठहरू बनाउनु पर्छ । त्यसरी लेख्ने बालसाहित्यकारहरू पाठ्यपुस्तकमा छुटिरहनु दुर्भाग्यको कुरा हो ।
रहरले मात्र पाठ्यपुस्तक लेखिँदैन । उच्चशिक्षाका पाठ्यपुस्तकमा यो प्रतिभाको यो पाठ पढाउने भन्ने निश्चित हुन्छ । विद्यालय तहमा पाठ र प्रतिभा छान्न लेखकको विवेकको प्रयोग गर्ने ठाउँ रहन्छ । पाठ्यक्रमले कुन क्षेत्रको वा कुन विधाको सामग्री मात्र भनिदिएको हुन्छ । यसले लेखलाई खुला बनाए पनि लेखकको बौद्धिकताको परीक्षण गर्ने ठाउँ यही हो । असल लेखक सम्पादकका कृति खोजी गरी पाठ्यपुस्तकमा समावेश गर्नु प्रत्येक पाठ्यपुस्तक लेखकको कर्तव्यको कुरा हो । यस्ता सामग्रीको खोजमा आधारभूत तहका पाठ्यपुस्तक लेखकहरू अझ सचेत बन्नुपर्छ ।आज पढाएको पाठ होइन, एउटा अनुच्छेद पनि होइन, एउटै वाक्यले पनि बालबालिकाको धरणा निर्माणमा सघाएको हुन्छ । त्यसको प्रभाव पछिसम्म रहिरहन्छ ।
-डा. रमेश शुभेच्छु