कुञ्जल शुभेच्छु लुइटेलको परिचय साहित्यसागरमा समेटिएको छ । उनको ‘नेपालको शान’ शीर्षकको पुस्तकमाथि लेखिएको लघु समीक्षा यहाँ समेटिएको छ । यसमा सुरेन उप्रेतीको नेपालका शान कृतिमाथि लेखेको समीक्षा समेटिएको छ । नेपालको शान सुरेन उप्रेतीको २०७९ सालमा प्रकाशित जीवनीको किताब हो । यसमा नेपालका तीनजना विशेष व्यक्तिको जीवनी रहेको छ । किताबका तीनवटै पाठका नाम पढ्दा कसकसका जीवनी छन् भन्ने थाहा पाइन्छ । सम्बन्धित व्यक्तिका फोटोहरूलाई नै चित्रका रूपमा प्रयोग गरिएको छ । ती तीन महापुरुष हुन् :
१. सन्दूक रूइत -सम्पा |
सन्दूक रूइत
सन्दुक रुइतको चिनारी दिँदा नेपालको दुर्गम जिल्ला ताप्लेजुङदेखि काठमाडौँसम्मको जीवनी समेटिएको छ । उनी ताप्लेजुङ जिल्लाको उत्तरमा रहेको सानो हिमाली गाउँ ओलाङचुङगोलामा जन्मेका हुन् । ताप्लेजुङ बजारबाट तमोर खोलाको किनारैकिनार चार दिन हिँडेपछि मात्र ओलाङचुङ गोला पुगिन्छ । त्यही ओलाङचुङ गोलामा पिता सोनाम वाङ्ग्याल र माता कासाङबाट सन् १९५४ मा सन्दूक रूइतको जन्म भएको हो । उनका बाबा सोनाम तिब्बतबाट नुन, जडिबुटी र अन्य सामानहरू ल्याएर गाउँगाउँमा घुम्दै बेच्ने गर्थे । आमा कासाङ ऊनको धागो बनाउने, स्वेटर, टोपी र गलैँचाहरू बुन्नेकाम गर्थिन् ।
सानो र गरीब परिवारका रुइत पढेर ठुला मान्छे बनेको जीवनी रमाइलो छ । उनी लखनउबाट पढेर नेपाल फर्किए र वीर अस्पतालमा आँखाको डाक्टर बने । उनले आँखा सम्बन्धी अध्ययनलाई अझ अगाडि बढाउँदै लगे । उनले भारतको राजधानी न्यू दिल्लीमा गएर अध्ययन गरे । निरदल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरूमा पनि पुगेर आँखा अस्पतालको अनुभव बटुलेपछि नेपालमा आएर तिलगङ्गा आँखा अस्पताल बनाए भन्ने विषय छ । यहाँ उनले ठुलो धनराशिको इशा अवार्डसम्म पाएको पक्षलाई समेटिएको छ ।
महावीर पुन
जिउँदो मान्छे महावीर पुन एक नेपाली वैज्ञानिकको जीवनी हो । यसमा गरीब परिवारमा जन्मिएका महावीर पुनको जीवनी छ । उनको जन्म विक्रम सम्वत् २०११ साल माघ नौ गते म्याग्दी जिल्लाको नागी भन्ने हिमाली गाउँमा भएको थियो । उनले पढ्ने बेलामा गाउँको स्कुलमा किताब, कfपी, कलमहरू उपलब्ध थिएनन् । कालोपाटीमा खरीले लेखेर पढ्ने गर्दथे । फलेकमा धुलोमाटो राखेर बाँस र काठका छेस्काको डिको बनाएर लेख्थे । गाउँका स्कुलमा शिक्षक पाइँदैन थिए । लाहुरबाट फर्किएका लाहुरेहरूले जानेका कुराहरू पढाउने गर्दथे । त्यहाँको स्कुलमा सात कक्षासम्ममात्र पढाइ हुन्थ्यो ।
उनले भेडा च्याङ्ग्रा र चौँरीगाईको गोठालो हुँदै सातकक्षासम्म पढे । सातकक्षामा पुग्दा मात्र उनले सिसाकलम पाएका थिए । कक्षा आठमा पुग्दा मात्र पढ्ने किताब पाए । उनका बुबाले पढ्न चितवन पठाए । उनी थप पढ्नका लागि विदेश गए । उनले युरोपका जर्मनी, बेलायत, इटली, फन्स आदि देशहरूमा पुगेर विभिन्न अनुभव बटुले । उनी कहिले अमेरिका, कहिले क्यानडा त कहिले जापान र अस्ट्रेलियामा पुग्छन् । उनी जहाँ गए पनि समाजलाई विज्ञान र प्रविधिसँग जोड्ने काम गर्छन् । त्यस कारण उनी नेपालका शान बनेका हुन् । उनले नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् ।
उनी अमेरिकाबाट बिएससीको पढाई सकेर आफू जन्मिएको म्याग्दी जिल्लाको नागी गाउँमै फर्किए । उनले नागीका गाउँलेहरूलाई च्याउ खेती गर्न सिकाए । माछापालन, मौरीपालन, खरायोपालन जस्ता व्यवसायहरू सुरु गरे ।
चौँरीपालन गरेर चीज उत्पादन गर्न सुरू गरे । गाउँलेहरूलाई आरूबखडाको जाम बनाउने तरिका सिकाए । गाउँमै कपडा बुन्ने सीप सिकाए । उनले नागी र राम्चे गाउँहरूमा तेह्रलाख वृक्षारोपण गरे र नाङ्गा डाँडाकाँडालाई हराभरा बनाए । उनले गाउँमा तारविहीन इन्टरनेट र्पुयाएको विषयलाई बीबीसी टिभीले समेत समाचार बनाएको थियो । तन, मन र वचनले काम गरेर उनी अहिले नेपालको गहना बनेका छन् ।
पासाङ ल्हामु शेर्पा
विराङ्गना पासाङल्हामु शेर्पा हिमाल चढ्ने पहिलो नेपाली महिला हुन् । उनी हिमाल चढ्ने यात्रीका भरिया बाबुकी छोरी थिइन् । राता स्याउ जस्ता गालाभएकी एउटी चुलबुले केटी थिइन् । पासाङ घरदेखि पर डाँडामा गएर पारिसम्म बाबु आउने बाटो हेर्दथिन् । कतै बाबु आएको देखिन्छ कि भनेर उनका कलिला आँखाले भ्याएसम्म नियाल्दथे । कहिले आप्पा आप्पा भनेर चिच्याउँथिन् ।
उgका आप्पा हिमाल चढ्न आउने विदेशीहरूको भारी बोकेर गएका हुन्थे । उनका आप्पाले घरमा आएपछि हिमालका मिठा कथाहरू सुनाउँथे । विदेशीहरूका कुरा नबुझ्दा परेका अप्ठ्याराहरू सुनाउँथे । विदेशीहरूलाई नेपाली गीत सिकाएको कुरा सुनाउँथे । राती बास बसेको ठाउँमा नाचगान गरेको कुरा भन्ने गर्थे । ती कुरा सुन्नलाई ऊ आप्पाको बाटो कुरेर बस्थिन् । आप्पा आउँदा बिस्कुट र चकलेटहरू पनि ल्याइदिन्थे ।
उनलाई स्कुल जाने र पढ्ने लेख्ने वातावरण थिएन । स्कुल जान तीन घन्टाको बाटो हिँड्नु पर्थ्यो । उनले चौध वर्षको उमेरमा बाबुसँगै हिमाल चढ्नका लागि जान खोजिन् । उनले खाना पकाउने यात्रुका रूपमा यात्रा सुरु गरिन् । केही समय लुक्लाको होटलमा खाना पकाउने काम पनि गरिन् । होटल र घर ओहोर दोहोर गर्दा उकालो ओह्रालो गर्ने बानी लाग्दै गयो । त्यहाँबाट उकालो जाने यात्रीबाट प्रभावित भएको र क्रमश: हिमाल आरोहण गर्न थालेको कुरा यहाँ छ ।
यस किताबका अनुसार पासाङलाई जसरी पनि सगरमाथा चढ्ने सपना पूरा गर्नु थियो । उनले होटलमा काम गरेर पैसा जम्मा गरिन् । दिनदिनै हिँड्ने गर्दा उनलाई लामो बाटो हिँड्ने बानी भयो ।
उनले सन् १९८९ मा ६०९१ मिटर अग्लो हिमाल चढिन् । अर्को वर्ष १९९० मा प्रान्सको ४८०७ मिटर अग्लो माउण्ट ब्लाँ हिमाल चढ्न फ्रानस गइन् । त्यसपछि १९९० मा नै नेपाल आएर सगरमाथा चढिन् तर आठहजार मिटरसम्म मात्र पुग्न सफल भइन् । पासाङ ल्हामुले फेरि १९९१ मा सगरमाथा चढिन् । यसपटक चुचुराको नजिक ८७५० मिटरसम्म पुगेर मौसमले कारण फर्कनुपर्यो । त्यस बेला पनि उनले हार खाइनन् र एकदिन उनले सगरमाथा चढेरै छाडिन् भनिएको छ ।
नेपाल सरकारले ७३१५ मिटर अग्लो एउटा हिमाललाई पासाङ ल्हामु हिमाल भनेर नाम राखेको छ । बाटोको नाम पनि पासाङ ल्हामु मार्ग राखेको छ । उनको जन्मभएको ठाउँ नजिक पासाङ ल्हामु अस्पताल बनाएको छ । हुलाक टिकटमा पनि पासाङ ल्हामुको तस्वीर राखेर सम्मान दिएको छ । उनी नेपाल आमाकी एक साहसी वीरङ्गना छोरी हुन् भनिएको छ ।
नेपालको शान किताबमा समेटिएका तीनवटै जीवनीले हामीलाई प्रेरणा दिन्छन् । कक्षा आठ र सोभन्दा माथिका पाठकका लागि काम लाग्ने छन् । यी जीवनी क्रमश: डक्टर, वैज्ञानिक र हिमाल आरोहीका विषयमा छन् । यी तिनवटै रचनाले हामीलाई सफल बन्न लक्ष्य लिएर अगािड बढ्नुपर्छ भन्ने सिकाएकोछ ।
नेपालको शान जीवनीमा ठाउँ ठाउँ कठिन शब्दहरू छन् । ठाउँका नाम पनि कठिन लाग्छन् । कतिपय हिमाल आरोहणसँग सम्बन्धित शब्द कठोर छन् । वैज्ञानिक र डाक्टरी क्षेत्रका शब्द पनि कठिन लाग्छन् । महावीर पुन र सन्दुक रुइतलाई हामीले भेट्न पनि सक्ने भएकाले यी दुई जीवनी पढेर उहाँहरूलाई सम्झँदा आदर गर्न मन लाग्छ ।