रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी शास्त्रीय, लोक र मुक्त लयढाँचामा सराबरी कलम चलाउन सक्ने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘माझी’ शीर्षकको कविता समेटिएको छ । शास्त्रीय लयढाँचा अन्तर्गत अनुष्टुप् छन्दमा संरचित यस कविताले गुरु, अभिभावक, निस्वार्थी नेता र समाजसेवीहरूको साझा विम्बका रूपमा माझीलाई प्रस्तुत गरेको छ ।
-सम्पा. |
माझी रोकिन्न खोलाले
जत्रो बाढी बढे पनि
माझी उम्कन्न बाढीमा
जिन्दगानी बगे पनि ।
चिल्थो फ्याङ्लो लगाएको
जीर्ण शीर्ण शरीर छ
पानीको छालझैँ माझी
जिन्दगानी अधीर छ ।
यात्रीको चापले दिन्छ
कमाइको खुसी पनि
नाउको वहना पेल्दा
ज्यान बन्छ दुःखी पनि ।
भुरा खोजेर पानीका
भुरै पाल्दछु दैनिक
माना थापेर यात्रीका
खाना पार्दछु दैनिक ।
हाँस्तछन् मस्तले प्रेमी
हेरी जल तरङ्गमा
मेरो मस्ती बगेको छ
जलको यै तरङ्गमा ।
बुन्छन् स्वप्नहरू यात्री
स्वप्नमा मात्र हाँस्छु म
बग्छन् जीवनका स्वप्न
वारि र पारि खेप्नमा ।
गुनासो छैन माझीमा
अरू तार्नु पर्यो भनी
किनारामा बसी डुङ्गा
तान्नु पेल्नु पर्यो भनी ।
अर्को पारि पुगे ढुक्क
अर्को आउँछ तार्नु छ
अर्कालाई उतारेर
आफ्नो जीवन पौड्नु छ ।
rshubechchu11@gmail.com