विमल गिरी (साल्पा सिलिचुङ्ग ४ सालेवा, भोजपुर २, सुपुत्रः छविलाल गिरी र लीला गिरी) प्रवासमा रहेर पनि नेपाली भाषा साहित्य र संस्कृतिलाई माया गर्ने व्यक्तित्व हुन् । पहाडबाट चारपाने २ बिर्तामोडमा बसाइँ सराइ गरेका गिरी आज बेल्जियम, ब्रसेल्स ५ मा बसेका छन् । उनको पहिलो रचना २०४३ सालमा मधुपर्कमा गीतिरचना प्रकाशन भएको थियो । त्यसपछि क्रमशः कान्तिपुर कोसेलीमा कविता र विभिन्न अनलाइन पत्रिकाहरूमा गीत, कविता, हाइकु र नियात्राहरू प्रकाशित छन् । उनका सम्झनाका तरेलीहरू ( गीती सङग्रह, २०६६), गोधूलि मन (मुक्तक सङ्ग्रह, २०६८), स्पन्दनका छालहरू (मुक्तक सङ्ग्रह२०७२), विभाजित मन (हाइकु सङ्ग्रह२०७३), सुनाखरी (हाइकु सङ्रह, २०७९) जस्ता कृतिहरू प्रकाशित छन् । यी विभिन्न कृति प्रकाशन गरेबापत गिरीले भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्वारा पुरस्कार पाउनका साथै नेपाल सरकारबाट भानुभक्त पदक पनि प्राप्त गरेका छन् । उनका केही कृतिहरू प्रकाशोन्मुख छन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थासँग संलग्न छन् । नेपाली कला, साहित्य र सङ्गीतलाई देशभर, प्रवर्द्धन र विकास गर्ने अभियानमा जोडिएका गिरीले विभिन्न देशको भ्रमण गरेका छन् र आफ्ना नियात्रा कृतिमा तिनका अनुभव अभिव्यक्त गरेका छन् । यहाँ उनको एउटा मुक्तक रचना समेटिएको छ ।
-सम्पा |
ताछतुछ गरेर हलोलाई झै न त ताछ्न मिल्छ
गुन्द्री डोरीको पोयालाई झैँ न त बाट्न मिल्छ
मनभरि सबैतिर अँध्यारा गल्लीहरू मात्र देख्छु
जीवन देखि न भाग्न मिल्छ न त साट्न मिल्छ ।
विमल गिरी ब्रसेल्स, बेल्जियम