कुञ्जल शुभेच्छु लुइटेल बालप्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको विनयकुमार शर्माद्धारा लिखित किसान र भगवान कृतिमाथि लेखिएको समीक्षा समेटिएको छ । यो समीक्षाले बालपाठकीय दृष्टिकोण प्रस्तुत गरेको छ ।
-सम्पा. |
किसान र भगवान् कथासङ्ग्रह हो । यस सङ्ग्रहका लेखक विनयकुमार शर्मा नेपाल हुन् । यस किताबलाई शब्दार्थ प्रकाशनले २०६६ सालका प्रकाशन गरेको हो । यसमा जम्मा २० पेज रहेका छन् ।
किसान र भगवान् किताबमा रहेका कथाहरु यसप्रकार छन् :
- देवताहरुको बैठक,
- बोका र मान्छे,
- किसान र भगवान्,
- असुरक्षा,
- बुद्ध र देवदत्त,
- सद्गुरू र योग्यता ।
यीमध्ये ‘देवताहरुको बैठक’ कथा व्यङ्ग्य कथा हो । यस कथामा इन्द्र, ब्रह्मा, विष्णु र महेश्वरसहितका देवताको वैठक छ । त्यस बैठकले देवताले गर्नुपर्ने जस्ता राम्रा निर्णय नगरेर उल्टापाल्टा निर्णय गरेका छन् । यसले नेपालको राजनीतिक गतिविधिको विरोध गरेको छ । यस कथामा बालबालिकाका लागि भने कठिन शब्दको प्रयोग भएको छ तर कक्षा आठ भन्दामाथिका विद्यार्थीका लागि खुब रमाइलो छ ।
‘बोका र मान्छे’ कथा यस सङ्ग्रहको दोस्रो कथा हो । यस कथामा छोराले बालाई सुत्ने बेलामा कथा भन्नु भनेपछि बाले भनेको रमाइलो कथा प्रस्तुत गरिएको छ । यस कथामा मासु काटेर बेच्ने बगरे राजु र उसले थुनेर बाँधेर राखेका खसी, बोका, राँगा, कुखुरा हाँसको कथा छ । मध्यरातमा राजुका विरोध गर्दै सबै जीवजन्तु कराउँछन् । राजु उठेर हेर्न जाँदा सबै चुप लाग्छन् र गएपछि पुनस् कुरा गर्न थाल्छन् । उनीहरू मान्छे राक्षस भएको, पशुलाई बाँधेर थुनेर मारेर खाएको विरोध गर्छन् । बाच्छाको दुध खोसेर खाने, माहुरीको मह खोसेर खाने, निर्धा पशु मारेर खाने मान्छेलाई पशु भनिएको छ । यहाँ मानिसलाई दानव पनि भनिएको छ । यस कथाले सबै प्राणी उस्तै हुन् भन्ने सन्देश दिएको छ । यस कथाले मांसहार हुनुभन्दा साकाहार हुनु राम्रो भन्ने सन्देश दिएको छ ।
किताबको अर्को कथा ‘किसान र भगवान्’ हो । यसमा किसान र भगवान् पात्र छन् । किसानले आफ्नो बाली राम्रो होस् भनेर भगवान् गुहार गर्छ । भगवान् आउँछन् र किन बोलायौ भन्छन् । किसानले जतिसुकै बेला पानी पार्ने र घाम लाग्ने प्रक्रिया रोकेर आफूले चाहेअनुसारको बेलामा पानी पार्न र घाम लगाउन अनुरोध र्गयो । त्यसो गर्दा किसानको बाली सप्रियो तर काट्ने बेलामा बालीमा दाना थिएन । के भो भनेर किसान आत्तियो । त्यसै बेला भगवान् आएर भने कि प्रकृतिलाई जित्न सकिँदैन । प्रकृतिले सङ्घर्ष गर्न सिकाउँछ । सङ्घर्ष नगरेपछि फल लाग्दैन भने । उनले बुझे प्रकृतिको विपरीत ईश्वरको र भाग्यको पनि केही लाग्दैन । यो कथा निकै रमाइलो र ज्ञान बर्द्धक छ ।
किताबको अर्को कथा ‘असुरक्षा’ हो । यस कथाको नायक धनीराम हो । ऊ पैसा बचाउन खोज्छ । उसकी श्रीमती र छोराछोरी फजुल खर्च गर्न चाहन्छन् । धनीरामले पैसा जोगाउँदा जोगाउँदै उसकी श्रीमती मर्छे । ऊ पनि मर्छ । छोराछोरी कसले कति लिने भनेर झगडा गर्छन् र धनको तहसनहस हुन्छ । यस कथाको सन्देश हो ः पैसा भन्दा संस्कार चाहिन्छ । अर्को सन्देश ह पैसा जसरी आयो त्यसरी नै जान्छ भन्ने हो ।
किताबको अर्को कथा ‘बुद्ध र देवदत्त’ हो । यी दुवै जाना दाजुभाइका छोरा हुन् । यो बुद्ध र देवदत्तको कथा हो हेर्दा ठ्याक्कै उस्तै भए पनि बुद्ध र देवदत्तको बानी विलकुल भिन्न छ । बुद्धको सिको गरेर देवदत्तले नाम कमाउँछ । बुद्धका आधाभन्दा धेरै शिष्य आफ्नो नयाँ संघमा लिएर जान्छ तर टिक्दैन किनभने बुद्धसँग स्वआर्जित ज्ञान थियो तर देवदत्तसित सिकेको मात्र । यस कथाले बाह्य ज्ञान, चोरेको ज्ञान, भित्रबाट नआएको ज्ञान र कपट कामको लागि प्राप्त गरेको ज्ञान नास हुन्छ भन्ने सन्देश दिएको छ ।
किताबको अर्को कथा सद्गुरू हो । राजा सद्गुरूलाई एउटा बाँसको चित्र बनाउन भन्छन् । सद्गुरूले दुई तीन वर्ष लाग्ने बताउँछन् । जाबो एउटा बाँसको चित्र बनाउन तीन वर्ष ? राजा आश्चर्यमा पर्छन् । सद्गुरू वास्तविक बाँसको चित्र बनाउन खुद मैले बाँस नबनी कसरी बनाउन सक्छु ? त्यसैले समय लाग्छ भन्छन् । सद्गुरूले तीन वर्ष तपस्या गरेर बल्ल चित्र बनाउँछन् । यो कथाले केही काम पनि धैर्यसाथ गर्नुपर्छ भनेको छ । काम गर्दा निरन्तर र ध्यानपूर्वक नगरी पूर्ण हुँदैन भनेको छ ।
किताबको अर्को कथा योग्यताङ हो । यो कथा जापानको कथा हो । यस कथाले होस, जागरूकता र बोधको शिक्षा दिएको छ । राजाले आफ्ना छोरालाई सद्गुरू कहाँ गएर होस, जागरूकता र बोध लिएर आउन भन्छन् । लामो समय लगाएर राजकुमारले यी ज्ञान सिकेर फर्कन्छ र कथा सकिन्छ । यस कथाले
नराम्रो काम गर्नु हुँदैन भनेको छ । नराम्रो काम र कुरा सोच्नु पनि हुँदैन भनेको छ । यसको अर्को पनि सन्देश छ( त्यो हो योग्यता त्यसै बन्दैन, त्यसको लागि कठोर परिश्रम गर्नुपर्छ भनेको छ । ।
किसान र भगवान् किताबका सबै कथा पढ्न गाह्रो पर्ने खालका भए पनि ज्ञानबर्द्धक छन् । कथाको भाषा, शैली र कथ्यले कथा आठ कक्षा भन्दा माथिका विद्यार्थीका लागि हो भन्ने लाग्छ । कथाले दिने सन्देश भने गहिरो छ ।
कक्षा ८,
युनाइटेड स्कुल, ललितपुर