बिन्दु दाहाल मूकदर्शक शिक्षा र साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘मर्म को बुझ्छ ?’ शीर्षकको कविता समेटिएको छ । यस कविताले वर्तमान राजनीतिक अदूरदृष्टिको विरोध गर्दै जनताको मर्म गणतन्त्रमा पनि जस्ताको त्यस्तै रहेको भाव निकै कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।
-सम्पा. |
हाम्रो यात्रा अविरल छ यो जिन्दगी बुझ्नलाई
नौला ढुङ्गा मनुज जहिले टिप्दछन् पुज्नलाई
ढुङ्गामा नै दुध पनि सधैँ पोख्छ मान्छे रमाई
भोकानाङ्गा गरिब जनको मर्म को बुझ्छ भाइ ?
कोही खान्छन् दिन दिन जसो मिष्ठ खाना कवाफ
सत्ताधारी हरपल त्यसै दम्भ पोख्छन् रवाफ
पानी देऊ घर घर भन्यो छैन भन्छन् जवाफ
अन्धा लाग्छन् मुलुकभरका गेरुधारी नवाफ ।
बेच्छन् सारा मदन र मुना घाँस जस्तै बनाई
जान्छन् हाँस्दै तर पनि युवा रुन्छ धर्ती लजाई
कस्तो बेथा मलिन धरती भन्छ के भो मलाई
आफ्नै माटो गृह र तुलसी बन्दछन् यी पराई ।
विद्वान् भन्ने सब नकचरा भाँडिए मुण्डमुण्ड
सीमा बेच्दा पनि चुप बसे बाँडिए झुन्डझुन्ड
थोरै मात्रै जन सुजन छन् देशको हाल बुझ्ने
बाँकी जो छन् भरत जसरी पादुकासम्म पुज्ने ।
आयो आयो नव युग यहाँ बेच्दछन् आज नारा
हामी भेडा हुन रहरले लाग्दछौँ लाम सारा
पुर्खाको त्यो रगतपसिना त्यागको मूल्य खोइ
गाई हुन्नन् बुझ अब गधा अङ्गप्रत्यङ्ग धोई ।