रमेश खकुरेल वर्तमान समयका विशिष्ट शास्त्रीय लयढाँचामा कविता लेख्ने कवि हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘वेदनाको वर्णमाला’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दुःखको भाषालाई कविताको विषय र विम्ब पनि बनाएको छ ।
-सम्पा. |
कतै बज्दछन् वेदना बाँसुरीमा
जहाँ वेदनाको कुनै हुन्न सीमा
मलाई भने लाग्छ मेरै व्यथा हुन्
कठै यी व्यथा को यहाँ बुझ्न सक्छन् ।
न यी बाँसुरी हर्षमा गाउँदैछन्
कसैमा मिठो प्रीत सन्देश दिन्छन्
म आफ्नै डढेलोसितै दन्किँदैछु
खुशी राग होस् भैरवी सम्झिँदैछु।
उनै हुन् स्वर ग्रामका वर्णमाला
सुधा बन्दछन् यी कतै चाहिँ हाला
कतै घोच्तछन् शब्द संवेदनाले
कतै लास्य भर्छन् यिनै प्रेरणाले ।
हरे भारती भाग कस्ता लगायौ
कतै हर्ष छर्दै छपक्कै भिजायौ
कतै आँसुका भेल झारी रुझायौ
कसो गर्न लाग्यौ न केही बतायौ ।।