अर्जुन पराजुली (२०२० श्रावण ५, ज्याग्दी काभ्रे, सुपुत्रः होमनाथ पराजुली र यदुमाया पराजुली) नेपाली कविता परम्परामा समकालीन पुस्ताका सशक्त व्यङ्ग्य कवि हुन् । सरकारी सेवाका साथै शिक्षण पेसामा पनि रहेर राष्ट्रसेवा गरेका पराजुलीले छोटा तर पेचिला लघु आकारका कविता रचना गरेका छन् । स्नातक तहसम्मको शिक्षा लिएका पराजुलीको आन्द्रालोक (२०५४) कवितासङ्ग्रह प्रकाशित छ । उनको सम्पादनमा भुँडीपुराण (२०४८), चङ्खे (२०५०) चुट्किला, फुमन्तर (२०५१), भुँडीपुराण गाइजात्रे (२०५१) जस्ता सामग्री पनि प्रकाशित छन् । उनी निरन्तर कुनै न कुनै सामाजिक एवम् राजनीतिक विषयमा कलम चलाइरहेका छन् । प्रगतिवादी जीवनदृष्टिका र व्यङ्ग्य शैलीका कविता लेख्ने पराजुलीको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘पसल’ शीर्षकको कविता समेटिएको छ । यसले नेपाली राजनीतिको विकृत पक्षलाई उजागर गरेको छ । -सम्पा. |
मेरो देशमा
भाउजूको पसल छ
दाजुको पसल छ
बाको पसल छ ।
भाउजूको पसलबाट भाउजूले
देवर नन्द बेच्नुहुन्छ
दाजुको पसलबाट दाजुले
भाइ बहिनी बेच्नुहुन्छ
र
बाको पसलबाट बाले
छोराछोरी बेच्नुहुन्छ ।
कठमाडौँ