वासुदेव पाण्डेयको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी यस पत्रिकाका नियमित लेखक हुन् । यस शृङ्खलामा उनको ‘जनअपेक्षा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले देशमा राजनेता वा उच्च नायकत्वको अभाव हुँदै गएको चिन्तासहित देशभक्तिको भावना अभिव्यक्त गरेको छ । -सम्पा. |
तगारो काममा बन्ने, उही दिन्छ इजाजत
धूर्त पण्डितझैँ लाग्ने न्यायाधीश अदालत
उद्देश्य एउटा नै हो कुरा काटुन् पछिल्तिर
चोरको मित्रता हुन्छ चोरका साथ आखिर.
कथावस्तु उही उस्तै पुरानै छन् नटी नट
छ रङ्ग-मञ्चझैँ देश,जनता खालि दर्शक
पोल्ने र पोलिने खेल छ जारी ठाउँ ठाउँमा
भक्ततल्लीनता धेरै आआफ्नैको बचाउमा.
चेत्दैनौँ कहिले हामी मिली धान्छौँ परम्परा
चोरलाई दिई चाबी सुरक्षा खोज्दछौँ बरा
बिग्रिए अगुवा हाम्रा छ खेती जालझेलको
पेल्दछौँ बालुवा हामी अपेक्षा हुन्छ तेलको .
हिजो आतङ्ककारी जो थिए पर्याय कोपका
आयुक्त चुनिई आए तिनै मुक्ति नियोगका
सत्तासीन भए बढ्छ अहङ्कार, चुरीफुरी
स्रष्टा त्यो देख्न सक्तैन भनी बस्छ कुरीकुरी.
कामको ढङ्ग नै छैन तर जिम्मा सबै लिने
अरूमा दोष देखाई आफू निर्दोष देखिने
न सूर्य तापले धान्यो न धान्यो वृक्षले अडी
छ घन्टी आउला भन्ने अपेक्षा उत्तिकै बढी.
राजनेता बनी साझा खै को नायक आउला
कहिले, कसरी मेरो देश उन्मुक्ति पाउला?
पर्वत