गोविन्द विनोदी स्वनामधन्य कवि हुनुहुन्छ । उहाँको परिचयसहित थुप्रै कविता साहित्यसागरमा छापिइसकेका छन् । यहाँ उनको ‘कार्टुन’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपाली राजनीतिक विसङ्गतिलाई देखाएको छ । बद्ध लयढाँचामा लेखिएको यस कविताले विविध सन्दर्भबाट राष्ट्रिय चेतनाको स्वर बुलन्द गरेको छ । राष्ट्रियता बोलीमा नभई व्यवहारमा हुनुपर्ने विचार अगाडि सारेको छ ।
-सम्पा. |
मुख चाहिँ निकै ठूलो तृप्ति कैल्यै हुँदैनझैँ
आँखा छन् अति नै साना उदात्त दृष्टि छैनझैँ
पच्दैन हितको वाणी घाँटी छ साँघुरो अति
पेट ओडार जत्रो छ खान सक्ने मिले जति
खुट्टा छन् लहुराजस्ता धान्लान् शरीर के गरी
छन् तीखा हातमा नङ्ग्रा पञ्जा हुन् बाघकासरि
पाइताला भने लामा छन् जो दौडन माहिर
पुगी लिग्लिगमा राजा हुनसक्ने छ जाँगर
कुर्सीको सपना बोक्ने फर्सी जत्रो छ टाउको
रक्त चुस्न मिले मानौँ बन्न सक्तछ ऊ जुको
परिवर्तनको टाँगी नयाँ बोर्ड निधारमा
पुरातन कुरा मात्र राखेको छ हियारमा
देशभक्त बनेको छ जनतासामुमा तर
विदेशी प्रभुका सामु झुकेको छ निरन्तर
देखी नेपालका नेता सोच्दो हो विधिले पनि
आहा ! कार्टुन क्या राम्रा बनायो कसले भनी ।