रुद्र बराल विशिष्ट कवि एवम् समीक्षक प्रतिभा हुन् । उनी भारतमा बसेर नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । उनी असम नेपाली साहित्य सभाका वर्तमान सचिव हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा दार्शनिक कवि आत्यमहत्या गरेको समयको मलामी शीर्षकको कविता समेटिएको छ । यस कविताले समाजमा उच्च बौद्धिकता र उच्च सिर्जनशीलता क्षय हुँदै गएको पक्ष उजागर गरेको छ । -सम्पा. |
धेरै दिन भयो
आफूदेखि अलिक पर उभिएर
एउटा कविता कोरौँ
कि एउटा क्यानभसमा
यो दुखेको माटो
त्यो सुकेको रुख
ती उजाड खेत
यी न्यास्रा पहाड
आशाहत अनुहार
अथवा
कुइरोले ढाकेको घामको चित्र
उतारौँ उतारौँ लागिरहन्छ
सक्तिनँ
न कविता
न चित्र
खालीको खाली रहन्छ क्यानभास
धेरै कुराहरू थिए लेख्नै पर्ने –
तल्लो गाउँको भोक
पल्लो सहरको भोग
सरसाउँदा युवाको रोग
बाल विधवाको शोक
सबका सब थोक
एकैचोटि मथिङ्गलमा आउँछन्
तँछाडमछाड गर्दै
एकैचोटि हल्ला लाउँछन्
शोकको कोरस गाउँछन्
कसलाई छोड्नु
र त
फेरि पनि
न कविता लेखाइ हुन्छ
न चित्र कोराइ
हत्केलाबाट फुत्किएको समय
कालान्तरको खाडलमा हाम्फालेर आत्महत्या गर्छ
म एउटा आत्मविभोर दार्शनिक बनिरहन्छु
एक्लै एक्लै
अकाल मृत्युको पीडा
मैले धेरै भोगेँ जीवनमा
सपना मर्यो
विपना मर्यो
रहर मर्यो
जाँगर मर्यो
सबका सबलाई हार्दिक श्रद्धाञ्जली ।
चढाउँदै छु हिजोआज
बिलौना गाउँदा गाउँदै
कहिल्यै भ्याइरहेको छैन
सिर्जनाको कुची भावनामा चोबल्न
सपना पुनः निर्माण गर्न
एउटा लुर मरेको कवि
कहिल्यै आफूदेखि पर उभिनै सकेन
’आफू’ले समाइरह्यो
उसको कुची
’आफू’ले पोखिदियो
सबै मसी ।
मभित्रको ए मेरो प्रिय कवि !
फुत्काइ दे न मलाई मबाट
म मानिससँग एकात्म बन्न चाहन्छु
मदेखि पर उभिएर
मजस्तै ’म’ हरूका पाखुरामा भर्नु छ
इन्द्रेनीको रङ ।
टीकाथली, ललितपुर