चन्द्र भण्डारी नेपाली साहित्य र सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘कङ्कालहरू’ शीर्षकको कविता समेटिएको छ । यस कविताले निकै विम्बात्मक रूपमा वर्तमान प्रशासनिक एवम् राजनीतिक विसङ्गटिको पर्दाफास गरेको छ । -सम्पा. |
यी कङ्कालहरूको भिडमा
म ती सैतानहरूलाई खोजिरहेछु
जसको सुन्दर हुलिया
यी खप्परहरूसँग ठ्याक्कै मिल्छ ।
चिहानभित्र पनि लाज पचाएर
मुस्कुराइरहेका यी याचक जस्तै
वारेन्छ छलेर लुक्ने हुन्
या हाकाहाकी सत्तासिन
ज्युँदा कङ्कालहरूको यस्तै गति हेर्न मन छ ।
सार्बजनिक सबै समाचार
साँच्चै सत्य हुन् भने
हामीले गाँस बास दिएर हुर्काएका प्रेतहरू हो !
नेपाली भूगोल अब तिम्रो हुन सक्तैन सक्तैन
तिमेरलाई भोगिसक्यो
देशले,अब त यो हाल हेर्न मात्र बाँकी छ ।
झापा , नेपाल