सुमन सङ्गम समकालीन पुस्ताकी कवि हुन् । उनको परिचय क्रमश: समेटिने छ । यहाँ उनको ‘नयाँवर्षको आगमनमा’ शीर्षकको कविता समेटिएको छ । मुक्त लयढाँचामा संरचित यस कविताले अघिल्लो र नयाँवर्षलाई दुई नदीका विम्ब बनाई तिनको मिलनको परिकल्पना गरेको छ । -सम्पा. |
उनीहरू –
उन्मुक्त छालहरूमा हेलिदै बग्दै
त्यहीँ भेटिए
जहाँ खोलाको सङ्गम थियो ।
पानीको तरङ्गसँगै बगिरहँदा
कहिले बिचबाट बगे
कहिले किनार भएर बगे
धेरै त वल्लो र पल्लो छेउ हुँदै बगे
बगिरहँदा बालुवाका कणहरू
पाइतालाले पन्छाउँदै र कहिले
ढुङ्गासँग जुधेर बगे
छुटी गएको वर्ष दिनका
पल÷पलमा एक्लै बगरको तृष्णा सहँदै बगे
तिर्खाउँदै किनारहरू छुँदै बगे
आउने नयाँवर्षका
सुखद क्षणहरूको कल्पनामा
बितेका दुखहरूको
पर्वाह पटक्कै भएन उनीहरूलाई
बेमौसमको आँधीले छोपे पनि
बगिरहे अफ्नै गतिमा
बग्दबग्दै
नयाँ र पुरानो वर्षमा समेटिएका यादहरू
आफ्नै छातीमा टाँसेर
एकअर्काका नामहरूमा
उनीहरू
प्रेमको अमरत्व खोज्न बगिरहे ।
उनीहरूले एउटै आकाश ओढेका थिए
एउटै न्यानो घाम तापेका थिए
शरीर भिन्न भए पनि
एउटै मन बाँचेका थिए
उनीहरूको यो सहबास देखेर
घाम, पानी र क्षितिज रमाएपछि
धर्तीमा इन्द्रेणीले रङ छर्यो
प्रकृतिको लयमा सुनसान आकाश
एकाएक चलायमान भएर
पहाडको तरेलीबाट निस्किएको सङ्गीतमा
हाँस्न थाले बुकी फुलहरू
नाच्न थाले शिरिषका टुप्पामा चराहरू ।
जब बसन्त ओर्लियो
उतिखेरै ओर्लियो
चाहनाको बेग पनि
रहरमा बाटो हेरिहेका
अनगिन्ती अनुहारहरूले
अब कुतूहल नजन्माउनू
बरु हातमा लिएर उभिनु “बुकी फूल “
नयाँवर्षको स्वागतमा उभिएको
एउटा प्रणय जोडीको बिश्वासमा
नदेखाउनु संशय र दुविधा पनि
ताकि उनीहरूको यात्रामा
खोला फेरि उल्टो प्रवाह नफर्किउन्
आज–
पुरानो वर्षलाई बिदाई गरी
नयाँ वर्ष तिम्रो आगमनले
उनीहरू अलग/अगल बगेर पनि
दोभानमा भेटिएर फेरि एक भएका छन् ।