तारा गाउँले विद्रोही कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी गद्य लयढाँचमा शक्तिशाली कविता रचना गर्छन् । प्रस्तुत शृङ्खलामा उनको ‘नयाँ बोतलमा पुरानै रक्सी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नयाँ वर्षको नाम मात्र वा अङ्क मात्र फेरिएर नपुग्ने भन्दै कवितालाई बहुल अर्थप्रधान बनाएका छन् । -सम्पा. |
बैँसका पातहरू
बिस्तारै झर्दैछन्
उकाली चढ्ने
जाँगरहरू पनि मर्दैछन् ।
उकालीको
बिसौनीमा शीतल दिने
बुढो पिपल पनि यसपालि
आधा मात्रै पाउलियो
हरेक नयाँ वर्षले
फाँको मार्ने गर्छ
जीवनको झोलीबाट एक मुठ्ठी उमेर ।
हिमाल हेरेर
मुस्कुराउँने गुराँस पनि
फेरी एक वर्ष झरेपछि आफ्नो बैँश
झोक्राइरहेछ मृत्यु कुरेर
झ्याउको काम्लो भित्र ।
कोयली पनि यसैपाला फुलेको
तन्नेरी गुराँसको हाँगामा बसाइँ सरेर
गाइरहेछ पिरतीको गीत ।
लाग्छ कतै टाढा सुदूर
परदेशिएको प्रेमी खोज्दै
साउदी कतारको मरुभूमिमा
सल्किरहेको अफ्नो खसमको बैँस सम्झँदै
फूलमती रोइरहेकीछ ।
थाहा छैन
सिमलको भुवासँगै उडेका सन्तानहरू
खोइ कुन देश पुगेर बास बस्ने हुन् कुन्नि
आफ्नै आँगनीमा देखेका सपनाहरू
कुन देश पुगेर फुल्ने हुन् कुन्नि ?
बूढो सिमलको प्वालमा बसेर
लाटोकोसेरो बेस्सरी कारायो ।
छोराछोरी परदेसिएपछि
एक्लै काल कुरिरहेका बुढा बा
भन्छन् “ शुभ बोल शुभ बोल“ ।
लाग्न त बसन्त
लागेकै हो यसपालि पनि
तराई अझै रोइरहे छ
सदभावको खडेरीमा
पहाड अझै अशान्त छ
आफ्नो अनुहार र पहिचान खोजीमा ।
मनाएकै हो पोहोर पनि नयाँ वर्ष
सिंहदरबारले
फुटायो होला
धेरै स्याम्पेनका बोतलहरू
फुटे होलान् धेरै झोपडीका सपनाहरू
बने धेरै सिंहका सिंह दरबारहरू।
सिंहदरबार भित्र बस्ने
सिंहको शुभकामनाले
डाँडापाखामा चरिरहेका मृगहरूको
शुभ कहिल्यै हुन सकेन ।
आजकल मलाई उस्तै उस्तै लाग्छ –
कहिल्यै अनिकालले नछोडेको
धनबहादुर
टिबीले थलिएको वीरवहादुर
बाणिज्य सङ्घको अध्यक्ष
मगन्तराम चौधरी
र
सधैँ पुरानो अनुहार लिएर आउने
यो नयाँवर्ष
उस्तै उस्तै लाग्छ ।
इलाम, हाल : भक्तपुर