गणेश घिमिरे मार्मिकको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनले मुक्तकदेखि महाकाव्यसम्मको कविता सिर्जनयात्रा तय गरेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘शुभकामना नयाँवर्षको’ शीर्षकको कविता समेटिएको छ । यस कविताले स्वतन्त्रता र राष्ट्रिय एकताको कामना गरेको छ । -सम्पा. |
कलमका टुँडा नभाँचियून्
विबुध राष्ट्रका नबेचियून्
सुजन राष्ट्रमै बसून् अब
प्रगतिकर्ममा जुटून् सब
अब त सच्चियून् सबै कुरा
नव–प्रभात होस् हराभरा
कुटिल राक्षसीपना हटोस्
अब त राष्ट्रको दशा कटोस्
बिगतझैँ कुरा नफेरियून्
सकसमा कुनै नपारियून्
अधर आर्तको नबाङ्गियोस्
गलत भावना नझाङ्गियोस्
सुजन स्वार्थमा नबाँडियून्
असुर वृत्तिले नभाँडियून्
सुदृढ एकता सधैँ रहोस्
मुलुक कष्टमा कवै नहोस्
सुख र शान्तिले सबै रहुन्
भय र दुःखमा कुनै नहुन्
सकल पन्छियून् विडम्बना
छ नव–वर्षको सुकामना !