घनश्याम परिश्रमीको परिचय साहित्यसागरका विभिन्न अंकमा समेटिइसकेको छ । उनी नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सारतत्व’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आर्जन भन्दा सेवाभाव र भौतिक उन्नति भन्दा सेवा भाव उच्च हुने विचार अभिव्यक्त गरेको छ ।
-सम्पा. |
जो बिर्सन्छ जगत् लाई के अर्थ हुन्छ ध्यानको ।
आफैलाई स्वयं चिन्न जरुरी हुन्छ ज्ञानको ।।१
युद्ध बर्बरता चल्छ विध्वंसी हतियारले ।
कवित्व भावना फुर्छ साधना र विचारले ।।२
स्वार्थीपना रहेसम्म संवेदना हराउँछ ।
अहङ्कार रहेसम्म मानवता डराउँछ।।३
माटोमा पसिना सिँच्दै लेख्नु अक्षर पृष्ठमा ।
जिन्दगी यसरी चल्दा हुन्छ सार्थक उत्तम ।।४
मानववादको आज विश्वव्यापी महत्त्व छ।
सेवाको भावनामा नै धर्मको सारतत्त्व छ ।।५