सुरेश हाचेकाली युवा पुस्ताका सशक्त कवि प्रतिभा हुन् । उनले सिर्जना र समीक्षा दुवै विधामा निरन्तर कलम चलाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको जन्मभूमि खोटाङमा बग्ने रावाखोलासम्बन्धी कविता ‘रावा कहिरन’ प्रस्तुत छ । यसले नदीका माध्यमबाट देशभक्तिको र मातृभूमि प्रेमको भाव अभिव्यक्त गरेको छ । यो कविता प्राकृतिक चेतनाको कविता पनि हो । दुधकोसीमा मिसिने पौराणिक महत्वको रावा नदी पूर्वी नेपालको माझकिरात क्षेत्रअन्तर्गत खोटाङ जिल्लामा बग्दछ । यसका माध्यमबाट त्यस क्षेत्रका अनेक व्यथितिलाई पनि समेट्ने कविको प्रयत्न मुखर भएको छ ।
-सम्पा. |
ए मनुवा हो !
म सजीव तर लटमुखा रावा नदी
मेरो काँचो आत्मा
कुनै वाचाल कविको आङमा सवार भएर
सयौँ वर्ष अघिदेखि
चाहिरहेको छ आफ्नो कहिरन बक्न
सुन न !
धेरै नागी, भञ्ज्याङ
र बेँसीखेत जन्मिनुअघि म जन्मिएँ
मान्छेका बग्रेल्ती भाषा, संस्कार, ईश्वर
र सभ्यताहरूभन्दा अघि जन्मिएँ
म खोला हुँ
जुनसुकै युगमा पनि
बहनुको नैसर्गिक धर्ममा आबद्ध
म तिम्रा पाप, अपराध र पुण्यहरूकी साक्षी हुँ
परापूर्वकालमा
म आफ्नै जिब्रोको भाषाले
छिमेकी खोलाहरूसँग
जीवनको संवाद गर्थेँ
कालान्तरमा
तिम्रा नव–प्रसूत मानव भाषाले
मेरो जलभाषाको प्राकृत ध्वनिविज्ञान मार्याे
तिम्रो पितृसत्तात्मक भाषाले
मेरो मातृभाषाको होनहार वर्णमाला मार्याे
आजकाल तिमीहरू
प्रकृतिबाट परापाचुके भइसकेको
वर्णसङ्कर भाषामा
सङ्कथन, कविता र संवाद उत्पादन गर्छौ
मनुवाहरू हो !
तिमीहरूको जस्तो
अनुसन्धानमा कपाल फुलेका
तालुखुइले हस्तीहरूले लिपिबद्ध गरेको
कुनै व्याकरण छैन मसँग
कुनै काव्यशास्त्र छैन मसँग
सङ्केत र लिपिविहीन सङ्गीतहरूले बोल्छु म
तिम्रो गाउँको पुछारैपुछार भएर
जुगजुगसम्म बग्दै आएँ
र बगाएँ
क्षयरोगीको खकार
खेताला गोठालाको पसिना
गडतीरै गडतीर हिँड्ने ढाक्रेको सिँगान
पर सरेका नारीहरूको रगत
अवैध शिशु
र तिम्रा पुर्खाको लासबाट सिर्जित खरानी
त्यसैले त देखेकी छु
जातीय अहमको चर्तिकला–
तिम्रा सयौँ दोजिया छोरी बुहारीले
खान्दानको प्रतिष्ठामय नाक स्निग्ध राख्न
आँसु, सिँगान र पसिनाले भिजेको
मजेत्रोको पट्टी आँखामा बाँधेर
मेरा गल्छी, कुइनेटा
र दहका बहावहरूमा
आफ्नो उमेरदारी देह विसर्जन गरेका छन्
ढाडमा ‘रुकस्याक’ बोकेर
बाइनाकुलरले
कालीभीरको तामाखानी नियालिरहेका
गोरा पर्यटकहरूलाई सोध
कति पटक भेटे उनीहरूले
खोलाको ढुङ्गामा बेरिएको
निरीह आइमाईको कपालको झाँक्रो
र बाह्र हाते पहेँलो पटुकी
यदाकदा मैले
तिम्रो पहेँलपुर धानबारी
सासका धन – बस्तुभाउ
पानीघट्ट
रोपाहार र दाउरेहरू बगाएकी छु
तिम्रा जघन्य ओर्याइँहरू रोक्न
साङ्केतिक भाषामा
मझौला नसियतहरू दिएकी छु
यसलाई ठट्टाको भाषिका बुझेर
ठुलो प्रलयको भाषा बोल्न
मलाई विवश नपार मनुवा
म सर्वदा–बाहिनी जलराशी हुँ ।