खोलाघरे साहिँलोको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी शास्त्रीय लयमा विशिष्ट कविता रचना गर्न सक्ने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘शिशिर सौगात’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्राकृतिक चेतनाका साथै राजनीतिक पक्षमा व्यङ्ग्य पनि गरेको छ । -सम्पा. |
टाँसिए हिउँका पत्र सबै अग्ला चुलीभरि
मूल कारकका साथ विभक्ति टाँसिएसरि ।
आधा हेमन्तको ढङ्ग,आधा वसन्तको पन
शिशिरले मिसाएका जस्तै छन् माघ-फागुन ।
आरुका बोटमा रङ्ग टाँसेकोछ खिली खिली
सिर्जना-सूचना-तूल टाँगेजस्तै झिलीमिली ।
देखिन्न तर हाल्दैछन् सिक्रे पादपले मुना
तपीझैं बाहिरी रित्तै भित्री ज्ञान छ चौगुना ।
हिउँका डरले पैल्यै पात झार्ने सबै रुख
गर्वी बनी खडा हुन्छन् अहिले हिमसम्मुख ।
अटेरी भै सँगै राख्थे आफ्ना पात उनै रुख
हिउँका भारले लच्के,भाँचिए भै अधोमुख ।
अनेकौं जातका पोथ्रा निकाल्यो युगले अब
वर्णसङ्कर संस्कार हुर्किंएझैं थपाथप ।
पात झार्ने/नझार्ने भै धेरैखाले वनस्पति
राजनीतिक पार्टीझैं देखिन्छन् बहुआकृति ।
झरे पात, कुनै झर्छन्,नझर्ने ढुक्क अड्दछन्
सिर्जना खोल्दछन् आफैं उम्रिन्छन् अनि बढ्दछन् ।
बाँसका पात बिस्तारै पँहेला देखिंदै गए
सन्यासाश्रममा लाग्ने वानप्रस्थीसरी भए ।
लोकतन्त्र छ हावामा, वन्यमा लोकतन्त्र छ
घाम,पानी,तुवाँलो र मेघमा लोकतन्त्र छ ।
शिशिरले दियो छूट स्वतन्त्र छन् सबैथरी
नेपाली तन्त्रमा जस्तो चल्दैन तर मन्परी ।
झर्दा पात खुल्यो बाटो बाँसका झ्याङमा भनी
हावा पसेर गर्दो छ नाद रिन्झिनी रिन्झिनी ।
उहिलेझैं कहाँ धुस्रो-फुस्रो यो ऋतु हुन्छ र ?
घुम्तीबाली र आरक्षी वन बढ्दा छ सुन्दर ।
बहुरूपी छ लीलाझैं अस्थायी परिवर्तन
क्षणमै घाम-पानीको देखिन्छ बद्लिंदाेपन ।
मिली मेघ-तुवाँलाले मानूँ पालो गरीगरी
बिम्ब छेक्ता भयो म्लान सूर्यको कान्ति-माधुरी ।
शीतबाधा भई बढ्न नसकेको गहुँ अब
हलक्कै बढ्छ,अग्लिन्छ देखाई आत्मपाैरख ।
सुकेका फूलका डाँठ “जीवन्त छौँ “भनीकन
प्रमाण दिन थाल्दैछन् फेदबाट पलाउन ।