सीता भट्टराई नेपाली कविता र समीक्षाका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको रिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको लेखियोस् जिन्दगीभर शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनलाई राम्ररी सिर्जनशील बाटामा लगाउन सकियोस् भन्ने कामनामुखी चिन्तन अगाडि सारेको छ ।
-सम्पा. |
नजानू चाकरी गर्न भोकै बस्नु परे पनि
लोभले लोभ भाग्दैन पद प्राप्ति गरे पनि !
स्वाभिमानी बनी बस्नू काम गर्नू सदा खटी
जिन्दगी सार होस् त्यस्तो मिलोस् न शुभ जिन्दगी !
नदी बन्दै सदा बग्नू पुग्नू समुद्रसाथमा
घाम बन्दै सदा लाग्नू सीप होस् हातहातमा
कर्म गर्नू सदा खट्दै ऊर्जा होस् जिन्दगीभर
घाम, पानी तथा माटो नचाहिने कहाँ छ र ?
ज्योति बन्नू सदा हाँस्दै छर्नू प्रकाश उज्ज्वल
पानी बन्दै सदा बग्नू बन्नू निर्मल निश्चल
हिलोमा पनि पो फुल्नू कमल फूलझैँ बनी
धुलोमा पनि पो रम्नू धुलो नहोस् न जिन्दगी .
फूल होस् जिन्दगी सारा काँडा होस् जिन्दगी घर
मूल होस् जिन्दगी सारा पानी होस् अझ निर्मल
जिन्दगी यो अझै हाँसोस् जिन्दगी बन्छ सुन्दर
मसी होस् जिन्दगी सारा लेखियोस् जिन्दगीभर !