कुनै एक स्रष्टाको प्रत्यक्ष उपस्थिति रहनु र नरहनुले साहित्य एवम् कला जगत्मा ठुलो परक पार्छ । नेपाली कविता र समालोचना परम्पारका विशिष्ट प्रतिभा मोहन हिमांशु थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको २०७९ फागुन तीन गते बिहीबार ललितपुरको नखिपोटस्थित आफ्नै घरमा निधन भएको हो । उनी विगत एक वर्षदेखि स्नायुसम्बन्धी रोगबाट पीडित थिए । सर्वप्रथमत : थापाप्रति हार्दिक श्रद्धाञ्जली ।
काठमाडौँको गोकर्णमा वि.सं.१९९३ मङ्सिर महिनाको उत्पत्तिका एकादशीका दिन पिता रामशरण थापा र माता नन्दकुमारी थापाका पुत्ररत्नका रूपमा उनको जन्म भएको थियो । थापा जन्मभूमि गोकर्ण छोडेर सहरमा डेरा लिएर बस्न थालेपछि कवि मित्रहरूको सङ्गतले कवि बनाएको कुरा उनले कुनै अन्तर्वार्तामा बताएका थिए । उनी काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्दै पछिल्लो समय बल्खु हुँदै ललितपुरको महालक्ष्मीस्थान नखीपोट सरेका थिए ।
जीवनका पछिल्ला पाँच सात वर्ष उनी साहित्य, जमघट र लेखन प्रकाशनबाट टाढिएका थिए । उनको उर्जावान् समयमा भने उनका लागि भषा साहित्य सबैभन्दा ठुलो र समर्पणको विषय थियो । पछिल्लो समय कान कम सुन्ने र विभिन्न रोगाक्रान्त भएकाले पनि उनी सार्वजनिक स्थलमा पुग्न सक्तैन थिए । उनको ‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ शीर्षकको कविता एक समय विद्यालय तहको कक्षा नौको नेपाली पाठ्यपुस्तकमा समेटिएको थियो । त्यस कविताका कारण पनि उनी सबै खालका पाठकमाझ परिचित थिए । त्यस कविताको एउटा अंश यस्तो थियो :
म आफ्नै देशको छहरामा हुन्छु
म आफ्नै देशको पहरामा हुन्छु ।
‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ जस्तो चर्चित कविताका र अन्य दर्जनौ प्रयोगशील प्रतिकान्तमक एवम् नवस्वच्छन्दतावादी शैली र चेतनाका सर्जक थापा कविता र गीतिकविताका क्षेत्रमा आफ्नो पुस्ताका प्रतिनिधिमूलक सर्जक थिए । उनका खुकरीमाथि एक चौटा बादल (२०३०) कवितासङ्ग्रह प्रकाशित छ । उनका अरू थुप्रै कविताहरू पत्रपत्रिकामा छरिएर र डायरीमा च्यापिएर रहेका छन् । उनको साहित्य परिचय (२०३६) नेपाली समीक्षा परम्परामा सैद्धान्तिक समीक्षाग्रन्थमध्ये गुरुग्रन्थ मानिन्छ । यस गुरुग्रन्थका लेखक थापा बोल्ने क्रममा नेपाली र नेवारी भषामा समान दखल राख्थे र विश्वविद्यालयमा यी दुवै भषा साहित्यको अध्यापन गर्थे । उनी त्यत्तिकै मिहिनेती विद्यार्थी थिए । उनले ’बालकृष्ण समको नाट्यकला’ विषयका विद्यावारिधि गरेका थिए । उनका विद्यावारिधि शोधबाहेक थुप्रै नाट्यविधा केन्द्रित समीक्षाहरू पत्रपत्रिकामा छरिएर रहेका छन् ।
थपा नेपाली साहित्यका वरिष्ठ स्रष्टा र द्रष्टा मात्र थिएनन् त्रिभुवन विश्वविद्यालयका नेपाली र नेवारी भषाका प्राध्यापकका हैसियतले विशिष्ट शिक्षासेवी व्यक्ति थिए । स्वभावले उनी असाध्यौ सरल स्वभावका व्यक्तित्व थिए । उनी केही समय त्रि. वि. नेपाली केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । उनलाई नेपाली भषा साहित्यका हजारौँ विद्यार्थीले एक आदरणीय र आदर्श गुरुका रूपमा सम्झन्छन् । त्यसरी नै नेवारी भषामा उच्च शिक्षा लिने विद्यार्थीका लागि पनि उनी आदरणीय र आदर्श गुरु थिए । उनी कुशल प्रशासक र आफ्ना सहकर्मीहरूका सहृदयी सहकर्मी पनि थिए ।
थापा कुशल र योग्य प्राध्यापकका साथै कुशल स्रष्टा, द्रष्टा, अनुवादक र सम्पादक पनि थिए । उनले नेपाली साहित्य सेवावापत युगकवि सिद्धिचरण पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पहलमानसिंह पुरस्कार, बालकृष्ण सम पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका थिए । उक्त पुरस्कारका साथै अन्य दर्जनौँ मान सम्मान र पदवीबाट सम्मानित पनि थिए ।
थापाको निधनबाट नेपाली साहित्यले एक असल अभिभावक गुमाएको छ । उनको निधनबाट नेपाली साहित्यले तिसको दशकमा प्रयोगधर्मी शिल्पशैलीका कविता सृजनाका एक धरोहर मात्र गुमाएको छैन नेपाली साहित्यका शोध र अध्ययन परम्पराका एक आधिकारिक स्रोत व्यक्तित्वलाई पनि गुमाएको छ । उनीसँगै नेपाली साहित्य जगत्ले विशिष्ट समालोचक तथा कुशल अनुवादक र सम्पादक व्यक्तित्व गुमाएको छ ।
थापाका कतिपय कृति प्रकाशनका तयारीमा रहेको बुझिन्छ । नेपाली लेखककोशमा घटराज भट्टराईले नेपाली नाटक र नाटककार कृति प्रकाशकको खोजीमा छ भन्ने सूचना समेटेका छन् । उनका पत्रपत्रिकामा छरिएका सामग्री र उनका अन्तर्वार्ता पनि नेपाली साहित्यका अध्येताका लागि र त्यमसा पनि नाट्यविधाका अध्येताका लागि प्रमुख स्रोतसाग्रीहरू हुन् । तिनको खोजी र प्रकाशनमा परिवारदेखि सम्बन्धित विषय र विधाका विद्वान्हरूको ध्यान पुगोस् ।
नेपाली साहित्य र शिक्षा जगत्मा विशिष्ट योगदान गर्ने अग्रजको निधन भएको यस दु :खद घडीमा कीर्तिशेष स्रष्टा एवम् द्रष्टा मोहनहिमांशु थापाज्यूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
-डा. रमेश शुभेच्छु