राजबाबु श्रेष्ठ सागर नेपाली कविता र आख्यानका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनी साहित्यिक सङ्घ संस्था र कतिपय साहित्य प्रबद्र्धनात्मक कार्यमा पनि लागिरहेका छन् । युवा उर्जाकासाथ बहुमुखी ढङ्गले साहित्य क्षेत्रमा समर्पित श्रेष्ठको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘सिनोको नाक हुँदैन’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आफ्नो स्वार्थका लागि जे पनि गर्न पछि नपर्नेहरूप्रति व्यङ्ग्य गर्दै सचेत गराएको छ ।
-सम्पा. |
नाकै कुहिएर झरेपछि
बाँकी रहेका प्वालमा पनि
कान्तिपुरको धुलो र राजनीति
प्रदूषणका सिमेन्टको मिश्रण भएपछि
के फरक पर्छ र साथी उसलाई ?
सिरानीमै सिनो कुहिएको गन्ध हो कि ?
बेली र चमेली फूलको सुगन्ध हो ?
तर मलाई फरक पर्छ साथी
मेरो समाजलाई,
मेरो गाउँलाई,
सभ्यता उम्रने
तराई
पहाड
र बूढो हुँदा पनि स्वाभिमानको पैतालामा उभिने
सेतै केस फुलेका मेरो सगरमाथालाई
यत्ति भनेँ, साथी ।
भो पर्दैन ठिक गर्न तिमीले तिम्रो नाक
तिमी सिनोको छिमेकी भैजाऊ ।
किनकि;
सिनोको नाक हुँदैन ।
भक्तपुर