अभय श्रेष्ठ चंकी श्रेष्ठका नामले सुपरिचित कवि एवम् आख्यानकार प्रतिभा हुन् । उनको सञ्चारकर्मीका रूपमा पनि त्यत्तिकै बलियो परिचय छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आमाको याद’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नारीचेतनालाई र देशभक्तिलाई आफ्ना सिर्जन सामर्थ्यभित्र समेट्न सकेको छ ।
-सम्पा. |
यो प्रदर्शनीको भित्तामा टाँगिएको
सुन्दर, स्निग्ध र उदास
युवतीको तस्बिर देख्दा
किन यस्तरी हल्लिन्छ मेरो मुटु ?
हरियो जङ्गलबाट फुत्त निस्कने
हरिणजस्ता यी सुन्दर आँखा
र, यी आँखाबाट फैलिरहेको
अपूर्ण संविधानजस्तो अनन्त उदासी
किन आफ्नै आफ्नै लाग्छ मलाई ?
किन आत्मीय लाग्दैछ
चन्द्रमाको कालो छायाजस्तो
यो दुःखी हाँसो ?
यो बतास फैलाइरहेको केशराशि
यो अनुहारको अदा
किन यस्तरी परिचित लाग्छ मलाई ?
किन अज्ञात प्रेमको दुःख
बल्झिरहन्छ मेरो छातीमा बारम्बार ?
किन उसका आँसु र पसिनाको झरीले
मेरो हृदयको भित्तामा कोरिरहन्छ
एउटा बागी गीत बारम्बार ?
के आँखा जति मानिसलाई पढ्न सकिने
सुन्दर किताब संसारमा केही छ ?
यो प्रदर्शनीको भित्तामा टाँगिएको
उदास युवतीको तस्बिर देख्दा
किन बन्द हुन खोज्दैछ मेरो हृदयगति ?
मेरो हृदयको बन्द ढोकालाई
अतृप्त सपनाको हुरीले ढक्ढकाइरहने
यी कसका आँखा हुन्
जसलाई देख्दा
सभ्यताको असभ्य सत्ताद्वारा
हत्या गरिएकी मेरी आमाको याद
आज फेरि मलाई
आइरहेछ बारम्बार ?
भक्तपुर