राजबाबु श्रेष्ठ सागर सिर्जना र सङ्गठनका क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनले कतिपय संस्थाको आजीवन सदस्य बनेर र पुरस्कार स्थापना गरिदिएर पनि सेवा पुर्याएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ सारभूत परिचयसहित ‘देश भत्काउँदा’ शीर्षकको कविता समेटिएको छ । यस कविताबाट राष्ट्रियता र स्वतन्त्रताको स्वर बुलन्द गरिएको छ ।
-सम्पा. |
आशाको थुन्सेसँगै थिल्थिलो जिन्दगी बोकेर,
उक्लिरेहछन् लरखराउँदै मेरा एकजोर गोडाहरू
सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले,
पिइरहेछन् अँजुली थापी,
एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।
देश भत्काउँदा माटामा भेटिनु पथ्र्यो
सहिदका आहुतिका ती टाउकाहरू ।
काटिएका सहिदका हजारौँ ती हातहरू
एक चौथाइ अवयव चुँडिदा आमाका,
सुनिनु पथ्र्यो छातीमा अँगालेर रोइरहेका,
लिपुलेक
लिम्पियाधुरा
र कालापानीका हाँक र क्रन्दनहरू ।
अझै भेटिनु पथ्र्यो
एउटा सत्यनिष्ठा हली,
जसले अघाएका एकजोर गोरु नारेर,
राष्ट्रियताको हलोले जोतिरहेको हुन्थ्यो,
आफ्नै दुखेको प्यारो देश ।
अझै भेटिनु पथ्र्याे मजेत्रो च्यातिएझैँ,
च्यातिएका आमाका ती सीमाहरू ।
दशरथ चन्द
धर्मभक्त माथेमा
गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरू ।
अझै खोजिनु पथ्र्यो
आफ्नै देशमा हराएका मदन भण्डारीरहरू ।
लेखिनु पथ्र्यो अझै राष्ट्रवादका कविताहरू,
सहिदका रगतमा चोपलेर राष्ट्रियताको कलमले ।
गाइनु पर्थ्यो,
जीवन शर्माले गाउने गरेका गीतहरू ।
तर अँहँ,
ब्युँझँदै छकोटी आँखाले देखेका सपनाहरू
गल्र्याम्मै ढले यसरी,
जसरी ढले सहिदका सपनाहरू ।
त्यै पनि होचो भएन र ढलेन कहिल्यै,
मेरो सगारमाथाको
त्यो अग्लो स्वाभिमान्
न निभ्यो कहिल्यै
मभित्रको देश प्रेमको दियो ।
म बाँचिरहेछु यसरी,
जसरी बाँचिरहेछन् निसासिएर,
मुढाले थिच्चिएका पहेँला निरीह दुबोहरू
ए कानहरू हो !
किन सुन्दैनौ हँ ?
चिहानबाट आएका सहिदका ती आवाजहरू ।
ए आँखाहरू हो !
किन देख्दैनौ हँ ?
सहिदका छातीका आलो घाउबाट,
बगेका रगतका ती अरूण र कर्णालीहरू ।
ए बरफहरू हो !
किन पोल्दैन हँ, तिमीहरूका छाती ?
मेरोझैँ स्वाभिमानको आगोले ।
उन्मुक्त नभएरै हो
बहिरा पर्खालहरूमा,
हिर्काइरहेछु म
आक्रोशका हतौडाहरूले ।
हो, निभाइनेछ घाम झ्याप्पै
म निभेपछि ।
साँच्चै ! भनूँ,
आफ्नै देशमाथिको खुला आकाश पनि,
मलाई पिँजडाजस्तै लाग्छ ।
पिँजडाभित्रको स्वतन्त्रता पनि,
के को स्वतन्त्रा हो र ?