राजु पाठक भारतको कोलकातामा रहेर नेपाली साहित्यको सेवा गरिरहेका प्रतिभा हुन् । उनले नेपाली समुदायका लागि विभिन्न संघ संगठनमा रहेर सेवा गर्नका साथै निरन्तर साहित्य सेवा गरिरहेका छन् । उनका रचना साहित्यसागरमा प्रकाशन भइसकेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘धर्म’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मन्दिरमा मूर्ति पूजा गर्नुभन्दा भोकानाङ्गालाई सेवा गर्न सके धर्म हुने विचार अगाडि सारेको छ । |
धर्म के हो
कसले जन्मायो
कहाँबाट जन्म्यो
काल्पनिक बन्दा
भावनामा डुब्दा
जटिल हुन्छ
सत्य र वास्तविकतालाई स्वीकार्दा
सरल हुन्छ बुझ्न
धर्मको परिभाषा कर्म हो
कर्म नै धर्म हो र पाप पनि
सुकर्म धर्म हो, कुकर्म पाप
सत्कर्म गरौँ कुकर्म नगरौँ
यसलाई कसरी बुझ्ने
मन्दिरमा राखिएको पथ्थरमा
फूल चढाउनु नै सत्कर्म हो‚ धर्म हो ?
होइन
यसो गर्नु भन्दा त
बाटोमा भोकले रन्थनिएको
कुकुरलाई एक मुठी भात दिनु
धर्म हो, सत्कर्म हो ।
के तपाईंलाई थाहा छ
चर्चमा पनि लेभ जाग्छ
मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बा
सबैमा चढाउन पैसा चाहिन्छ
यो सबै व्यवसाय हो
धर्मको नाउँमा ।
भिखारीलाई एक रूपैयाँ
कति गाह्रो हुन्छ दिन
खुसुक्क हात जान्छ खल्तीमा
दान दिन मन्दिरमा ।
भोको पेट
भोकै रहोस् वास्ता हुदैन
जढ वस्तुलाई
नदिइकन शान्ति पाइँदैन
धर्म बनाउने पनि हामी
भगवान् पैदा गर्ने पनि हामी
हाम्रै कानुन हो धर्म
हाम्रै कल्पना हो भगवान्
सत्य, यथार्थ भन्दा पर
कल्पनाको सागरमा बगिरहेछौँ हामी
जो हामीबाट जन्म्यो
उसैले जन्माएको मानिरहेछौँ हामी ।
कोलकाता भारत