भुवनहरि सिग्देल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता र आख्यानका सबै विधामा कलम चलाएका छन् । उनी शास्त्रीय लयढाँचमा गहन कविता सिर्जना गर्दछन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेकाले यहाँ सारभूत परिचयसहित उनको ‘देश फिर्ता गर’ शीर्षकको कविता समेटिएको छ । स्रग्विणी छन्दको यस कविताले समकालीन राजनीतिक विसङ्गतिको विरोधसहित राष्ट्रिय चेतनाको स्वर अभिव्यक्त गरेको छ ।
-सम्पा. |
झिप्प बत्ती निभ्यो खोज्न थालेँ दियो
दीपिका उल्टियो तेल नै पोखियो
रेडियो बन्द भो सुन्नुपर्ने थियो
आज के बेचियो बुझ्नुपर्ने थियो ।
ध्यान गर्ने गुफा हो कि लाग्यो घर
ध्यान गर्दै भनेँ देश फिर्ता गर
जन्मभूमि थियो हैन जस्तो भयो
बन्धकी हो कि यो दाइजोमा गयो ।
वर्ण दिन्छौ तिमी लिङ्क दिन्छौ तिमी
जात दिन्छौ तिमी धर्म दिन्छौ तिमी
वर्गसङ्खर्षका मर्म दिन्छौ तर
माग मेरो छ यो देश फिर्ता गर ।
शान्तिका खालमा रक्त छर्छौ तिमी
मेलका खेलमा झेल गर्छौ तिमी
न्यायका नाममा भ्रान्ति दिन्छौ तर
देश खै देश खै देश फिर्ता गर ।
खोल्छु ढोका भनेँ बन्द गर्छौ तिमी
यी सिसा झ्यालका फोर्न थाल्छौ तिमी
नाच्तछौ बेतुके नित्य नाङ्को हर
हे कलाकार हो देश फिर्ता गर ।
काम छैनन् यहाँ स्वप्न दिन्छौ तिमी
अन्नका नाममा भोक छर्छौ तिमी
लाग्छ शङ्गा सधैँ डुब्न लाग्यो घर
देशमा देश नै छैन फिर्ता गर ।
काठमाडौँ