साहित्यसागरले विशुद्ध साहित्यसेवाका सय पाइला पूरा गरेको छ । यस सञ्चारमाध्यमको आरम्भ गर्दैगर्दा यसको भविष्यको खाका यहाँसम्म पनि कोरिइसकेको थिएन तर आज यो एउटा गरिमापूर्ण सञ्चारमाध्यम बनेको छ । धेरै अनुसन्धानमूलक लेखहरूमा यहाँ प्रकाशित सामग्रीहरू सन्दर्भन हुन थालेका छन् । पाठकहरूको सङ्ख्या पनि दिनदिनै बढेको छ । लेखकहरूले पनि कुनै सामग्री तयार भएपछि कहाँ छाप्ने भन्ने सन्दर्भमा हामीलाई सम्झन थालेको सुखद अनुभूति हामी गरिरहेका छौँ । यस्तो लेखक र पाठकको माया पाउनु नै हाम्रो सफलता हो ।
हामीसँग अनलाइन सञ्चारमाध्यममा साप्ताहिक प्रकाशन कति व्यवहारिक होला भन्ने जिज्ञासा पनि थियो । त्यस्तो जिज्ञासा पनि काम गर्दे जाँदा अब मेटिएको छ । हाम्रो प्रकाशनले यिनको पुस्तकालयीय अभिलेखनका लागि अलग अलग अङ्कको तर एकै ठेलीमा सय अङ्कसम्म प्रकाशन गर्ने योजना पनि बनाएकाले यसको उपादेयता अझ पुष्टि हुँदै जानेछ । अहिले हाम्रा सामग्रीलाई स्वदेशमा हुने भन्दा विदेशमा हुने पाठकले पढिरहनुभएकाले यस सञ्चारमाध्यमले नेपाली भषासाहित्यको अन्तराष्ट्रियकरणमा पनि भूमिका खेलेको हामीले ठानेका छौँ । क्रमशः यस सञ्चारमाध्यमलाई नेपाली भषासाहित्यको अन्तराष्ट्रिय सेतु बनाउने हाम्रो धेय रहेको छ । त्यसका लागि अझै लेखक पाठक र प्राज्ञिक समाजको साथ सहयोगको खाँचो छ ।
कुनै पनि काम थाल्ने वित्तिकै समुन्नत बन्दैन । हामीले यो काम थालेपछि कोरोना महामारीका कारण विश्वमा आर्थिक उपार्जनका बाटाहरू कमजोर बन्दै गए । त्यस्तो बेला यस सञ्चारमाध्यमलाई पनि निरन्तरताका लागि समस्या नभएका होइनन् । यस सञ्चारमाध्यमलाई पनि अफ्ठ्यारा र चुनौतिहरू नआएका होइनन् तर यसको सञ्चालक समूहको साहित्यसेवा र समर्पित भावनाले यसलाई यहाँसम्म ल्याइपुर्याएका छौँ । यसलाई साहित्यसेवको केन्द्र बनाउने उद्देश्यले अब क्रमशः देशीय, महादेशीय र प्रमुख सहर केन्द्रित प्रतिनिधिहरू पनि थप गर्दै यसको विकास गर्ने आन्तरिक योजना रहेको छ । यसको छुट्टै कोष र अन्य संस्थागत संरचनाको योजना पनि बनिरहेको छ । संरक्षक र आजीवन सदस्यहरू पनि बनाउने र ट्रस्टीहरूको पनि खोज गरी यसलाई समुन्नत बनाउने आन्तरिक योजना बनेको छ ।
अनलाइन सञ्चारमाध्यम भन्ने वित्तिकै यसका बहुआयाम छन् । हामीले अहिलेसम्म लिखित सामग्रीको प्रकाशनलाई महत्त्व दिए पनि क्रमशः यसलाई श्रव्यदृश्य सामग्री उत्पादन र प्रशारणका माध्यमबाट पनि अगाडि बढाउने योजना बनाएका छौँ । अहिले नै यसलाई भाषा, साहित्य र वाङ्मयको साझा लिङ्क भण्डारका रूपमा पनि विकास गरिसकेका छौँ र यसलाई अझ अगाडि बढाउने छौँ । सयौ शृङ्खलासमम पहिला लिखित सामग्री सङ्कलन नभई श्रव्यदृश्य समग्री उत्पादन गर्ने जग कमजोर होला भनेर हामी लिखित सामग्रीकै खोजीमा लागेका हौँ । अब यी सामग्रीहरूलाई नै क्रमशः छायाङ्कन र ध्वनिमुद्रण गर्दै प्रशारण गर्ने कुरामा हामी प्रतिबद्ध छौँ । त्यस बेला कलम चलाउने प्रतिभा मात्र होइन अभिनय कला हुने प्रतिभा, चित्रकला हुने प्रतिभा, राम्रो आवाज हुने प्रतिभा, राम्रो वाचन कला हुने प्रतिभा, भाषाका क्षेत्रमा काम गर्ने विविध प्रतिभाका साथै प्राचीन लिपिविज्ञहरूलगायत ठुलो जनशक्ति यहाँ खपत हुनेछ । अहिलेसम्म यस सञ्चारमाध्यमले केही विशेषाङ्कका साथै केही विशेष शृङ्खलाका रूपमा पनि सामग्री सङ्कलन गरिसकेको छ । ती सामग्रीले नेपाली साहित्यका विकासमा टेवा पुर्याउने छन् भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ ।
साहितत्यसागरले राष्ट्रकवि माधव घिमिरे विशेषाङकबाट आफ्नो यात्रा आरम्भ गरेको थियो । यसका यात्रामा महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्क, पारिजात विशेषाङ्क, भनुभक्त विशेषाङ्क प्रकाशन गरेको छ । यी सामग्रीको थुप्रै अनुसन्धानमा सन्दर्भन भएको देखिएको छ । यो हाम्रो सफलताको प्रारम्भ हो । त्यसै गरी यस सञ्चारमाध्यले असारे कविता÷गीत विशेष, प्रा.राजेन्द्र सुवेदी स्मृति विशेष, नववर्ष विशेष आदि सामग्री पनि प्रकाशन गरिसकेको छ । यसरी व्यक्ति प्रतिभा केन्द्रित, संस्कृति केन्द्रित, भिन्न भाषाभाषी केन्द्रित अनेक शृङ्खलाका प्रकाशन हाम्रा योजनामा रहेका छन् । हामी, कला, इतिहास, दर्शनलगायत ज्ञानविज्ञानका विशेषज्ञहरूसँगका विमर्श र लेखहरूलार्य पनि क्रमशः स्थान दिँदै जाने छौँ । यस सञ्चारमाध्यमका सम्पादकीय विचारहरू पनि साहित्यका बहुआयामलाई समेटेर आएका छन् । यस सञ्चारमाध्यमले साहित्यलाई नै मूल साग्री बनाउँदा बनाउँदै पनि सकेसम्म आख्यान, निबन्ध, नाटक, कविताका साथै अन्य नयाँ विधाका विभिन्न पक्षलाई समेट्तै आएको छ । त्यस्तै केही साहित्यिक समाचारको पनि अभिलेखन गरेको छ । विस्तारै पुस्तक अंश, महत्वपूर्ण तस्बिर, तस्बिर र मूर्तिकेन्द्रित साहित्य, मन्तव्य, विचार विमर्श , प्रवचन, स्ववचन र समग्र वाङ्मयिक सामग्री समेट्ने प्रयत्न भइरहेको छ । हाम्रो डिजिटल यात्राको सयौँ शृङ्खलाको सम्पादकीय अभिवादन ।
-डा. रमेश शुभेच्छु