मणि भट्टराई अमेरिकामा रहेर साहित्य सिर्जना गरिरहेका प्रतिभा हुन् । उनको कलम मूलत: कविता विधामा चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘उपहार’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रेम र विश्वासको अमरतालाई प्रेमिकालाई उपहारको विम्ब बनाएको छ । -सम्पा. |
तिमीले
तिमीसँग अब केही छैन भने पनि
म तिमीसँगै छु
एकलव्य जस्तो
एकाग्र तिम्रो प्रेममा !
तिमीले अब सकियो भने पनि
हाम्रो प्रेम क्लाइमेक्स भन्दा धेरै तल छ
तल
कतै सतहमा
कुरिरहेको उचाइको पर्खाइमा ।
यो केही होइन भने पनि
मसँग केही छैन भने पनि
जे भने पनि
केही नभने पनि
म तिमीसँग रोइरहेको छु
हाँसिरहेको छु
जिस्किरहेको र खेलिरहेको छु
निरन्तर उस्तै
दुरूस्तै
पहिलाको जस्तै !
हावा चल्छ
पानी बग्छ
आगो बल्छ
त्यस्तै हो
सबै कुराहरू भइ नै रहन्छन्
सकिए भनेका कुराहरू पनि कहाँ सकिन्छन्
ती रहिरहन्छन् ।
मेरी प्रिय,
आज पनि दिन धुम्मियो भनेर गाली नगर्नु बादललाई
कतै त्यो हाम्रा आँसुहरू लिएर उडिरहेको हुनसक्छ
नरिसाउनु हुरीसँग
हाम्रा आक्रोसहरू बोकेर बगिरहेको हुनसक्छ
बोल्दैन बगर
नरिसाउनु सदियौँदेखि आफ्नो रूप नै गुमाएका
खिइएका ढुङ्गाहरसँग
ती हाम्रा दुखेका चित्तहरू जस्तै
दुखिरहेका हुन सक्छन् !
मैले तिमीलाई के सन्देश पठाऊँ ?
बरू यही उपहार ग्रहण गर
यही एउटा घाइते कविता
जो कविता कम र घाऊ बढी हो
यसलाई जतन गरेर प्रेम गर
प्रिय, नरिसाऊ
मायाको भोको छ यो
यसलाई माया गर ।
हाल : अमेरिका