प्रतिभा पौडेलको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । उनी इलाममा रहेर निरन्तर सिर्जना र समीक्षाका क्षेत्रमा कलम चलाइरहेकी छन् । प्रस्तुत शृङ्खलामा उनको ममता शीर्षकको कविता समेटिएको छ । यस कविताले आमाको महिमा आमा बनेपछि मात्र बुझिने नारी मनोविज्ञानलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेको छ ।
-सम्पा. |
आमाको महिमा तिमी अवनिमा आयौ र बुझ्दै गएँ
साँच्चै स्नेह सुधा र धैर्य ममता कर्तव्य सिक्दै गएँ
तोते मोहक शब्दका सुरभिको व्याख्या गरूँ के गरी
वर्षायौ मृदु मोहनी हृदयमा सन्दीप्त सञ्जीवनी ।
त्यै बाला पनको समुद्र मनको पौडेर डुब्दै रहेँ
आमा बन्न सिकाउने गुरु तिमी मै शिष्य बन्दै रहेँ
प्यारो सन्तति नै रहेछ सबको आदित्य झैँ सारथि
जस्तै बोझ उठाउँने छु जननी मातृत्व उर्लेपछि ।
आफ्नो प्राण नगन्य लाग्छ अहिले सन्तानको प्यारमा
छाती थाप्न तयार हुन्छ ममता सन्तानका चोटमा
तिम्रो रोष सहर्ष खप्छु म सदा हाँसेर पोखिन्छु म
तिम्रा पीर सहन्न दु:ख्छ मुटुमा तड्पेर खोपिन्छु म ।
तिम्रो चित्त दुखे असाध्य ननिको आँखाहरू बग्दछन्
छाती चर्चर हुन्छ मातृ दिलका स्नेही सुधा झर्दछन्
तिम्रो चित्त दुखाउँनेसँग निकै आक्रोश उर्लन्छ यो
झम्टूँ झैँ बघिनी बनी रिस उठे आगो बनी बल्छ यो ।।
मेरो गौरव भन्नु केवल तिमी हौ हर्षका सागर
दिन्छन् शान्ति असाध्य भित्र दिलमा तिम्रा खुशी जाँगर
मेरा दु:ख हटाउँछौ मधुमयी तोते मिठा शब्दमा
यै बाला पनभित्र मुग्ध म बनी डुब्दैछु आनन्दमा ।