भुवनहरि सिग्देल नेपाली आख्यान र कविता दुवै विधामा सफल ढङ्गले कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनका कवितालाई बिच बिचमा पहिलो रचनाका रूपमा थुप्रै पटक प्रस्तुत गरिएको छ । प्रस्तुत शृङ्खलामा उनको ‘राजनीति’ शीर्षकको कविता समेटिएको छ । स्वागता छन्दमा संरचित यस कविताले राजनीतिक विसङ्गतिको विरोध गरेको छ । -सम्पा. |
राजनीति गुलियो अमिलो कि ?
भागको रmगरmगे कमिलो कि ?
संविधान परिधान कि धान ?
सङ्खको भुस कुट्यो कि घुरान ?
राजनीति कि झुसेतिल खेती
चाटुकार गफका गफ रेती
यो लुतो किन मजा छ कन्याऊँ
हुन्न रे सरम काछ चलाऊँ ।
या जिरा र मसला तसलाको
स्वादिलो छ सुकुटी असलाको
प्रश्न छन् विविध उत्तर छैन
राजनीति कि जुवा बुझिँदैन ।
मित्र लालबुझक्कड आए
देशमा बिगुल ढोल बजाए
राजनीति पर भाग्छ समाओ
रोक छेक पिँडुला नकमाओ ।
सङ्खमा छ यसको अभिमान
धर्ममा छ धमिलो गुणगान
क्षेत्रमा गरिबको पहिचान
द्वन्द्वमा दमनका अभियान ।
निस्कियौँ जुलुस पक्रिनलाई
घेरियो मृगसमान फकाई
भोज निम्ति थपिए खडकौँला
हातमा सुलभ छन् बडकौँला ।
काठमाडौँ