नुमराज बराल (२०१५ कार्तिक २७ भाइटीका, आर्वा विजय, पोखरा १३, कास्की, सुपपुत्रः सोमलाल बराल धर्मशीला बराल) नेपाली साहित्यका विशेषतः कविता विधामा समर्पित प्रतिभा हुन् । उनले निरन्तर कविता विधालाई नै प्रिय विधा बनाउँदै आएका छन् । नेपाली भाषा साहित्यमै स्नाकोत्तर बरालका आर्वाली वनफूल (कवितासङ्ग्रह, २०३४), भ्रूणहत्या (खण्डकाव्य २०४३), यस्तो लाग्छ (कविता सङ्ग्रह), माटो र पसिना (कविता सङ्ग्रह२०६०), हिमश्रृङ्खला (कविता सङ्ग्रह, २०६६), विपरीत ध्रुव (खण्ड काव्य, २०६७), बिहे (खण्डकाव्य, २०६७), जूनकीरी (खण्डकाव्य, २०६७), राता अक्षरहरू (खण्डकाव्य, २०६७) जस्ता कृतिहरू प्रकाशित छन् । उनले यसरी कविता र काव्य रचना गरेवापत थुप्रै मानसम्मान र पुरस्कारहरू पनि प्राप्त गरेका छन् । निजामती सेवाबाट निवृत्त बराल अहिले साहित्य साधनामै रमाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा बरालको ‘खिर्रो’ शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
वनमाराले टारी ढाक्यो
झारझारले बारी ढाक्यो
दिनभरि सुत्ने उसको बानी
शीघ्र खन्याओ ठण्डा पानी ।
जुवाखालमा उसको बास
जाग्छ रातभरि बोतल दास
खान्छे पत्नी निशिदिन लात
च्याप्प समाओ उसका हात ।
परउपकारी बन्दै डुल्छ
कताकता छन्, युवती भुल्छ
सेरोफेरो मेरो भन्छ
मसल फुलाई साँढे बन्छ ।
बाटोघाटो, बिजुली, पानी
आम्दानीका सजिला खानी
ठगले यसरी जनता ढाँट्छ
हुरी चलाओ कुहिरो फाट्छ ।
जनता अझ पनि लाटा जस्ता
वलिवेदीका पाठा जस्ता
खिर्रालाई चन्दन ठान्छौ
जनता कसरी माथि जान्छौ ?