अरूणबहादुर खत्री (२०२४ वैशाख १४ गते बिहीबार, सुपुत्रः मीनबहादुर खत्री र मिठु खत्रीसामाखुसी मार्ग, ९३५/५४, वडा नं. २९, काठमाडौं) निरन्तर साहित्य सिर्जनामा र समीक्षामा लागिरहेका प्रतिभा हुन् । व्यवस्थापन विषयमा स्नातक खत्री निजामती सेवामा संलग्न छन् । उनी निरन्तर रूपमा लघुकथा र कविता सिर्जना गरिरहेका छन् र विभिन्न पत्रपत्रिकाका प्रतिनिधि एवम् सम्पादन सहयोगीका रूपमा सामग्री संकलनमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । उनी कुसुमाकर साहित्यिक त्रैमासिक पत्रिका, टुक्का काव्य परिवार, सामाखुसी साहित्य समाज, हाम्रो मझेरी राष्ट्रिय साहित्यिक विविध पत्रिका, बसन्त पल्लव साहित्यिक द्वैमासिक पत्रिका आदि विभिन्न पत्रिकाहरूसँग पनि संलग्न छन् । उनको मौलिक कृति प्रकाशन नभए पनि उनका रचनाहरू विविध पत्रपत्रिकामा पढ्न पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नयाँ पसल’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले मासु पसलका सामान्य गतिविधिलाई आख्यानीकरण गरेको छ । नयाँ ग्राहकलाई राम्रो सामान दिने र पुरानोलाई नराम्रो सामान दिने पसलको प्रवृत्तिको विरोध गरिएको छ । -सम्पा. |
बिहानै बिरामीले खाने मासु किन्नु थियो । कुखुराको मासु किन्न मासु पसलमा पुगेँ । ‘मलाई डेढ पाउँ जति कुखुराको छाती दिनुस् न साहुनी मैले भने । साहुनीले मलाई दिँदै गर्दा थप कुरा पनि भनेँ– कुखुराको मासु काट्न लाग्दा ‘हड्डी बोसो र छाला चाहिँ सकेसम्म नदिनुहोला नि। अझ स्पष्ट पार्दै मैले बिरामीले खानको लागि कुखुराको मासु किन्न आएको हु’ भने ।
साहुनीले डेढ पाऊ जति कुखुराको मासु जोखेर मसिनो टुक्रा पारेर दिइन् । मैले ‘कति रूपैँया भयो साहुनी’ भने । साहुनीले ‘एकसय पाँच रूपैया भयो’ भनिन् । मैले आफ्नो गोजीबाट साहुनीलाई एकसय पाँच रूपैँया निकालेर दिएँ ।
मासु घरमा लगेर श्रीमतीलाई दिएँ । श्रीमतीले ‘हजुरले त मासु भन्दा धेरै हड्डी र छाला पो ल्याउनुभएछ नि भनिन् । ‘बिरामीको लागि मासु किन्न आएको हुँ भन्नु भएन मासु बेच्ने पसलमा’ उनले भनिन् । ‘बिरामीले खानको लागि कुखुराको छाती किन्न आएको हुँं किन नभन्नु नि’ मैले भने ।
‘अबदेखि त्यो पसलमा म मासु किन्न जाँदिन अर्कै पसलमा गएर मासु किनेर ल्याउछु’ मैले भने । अर्को पटक अर्कै पसलमा गएर मासु किनेर ल्याएँ । नयाँ पसलबाट मासु किनेर घरमा लैजाँदा ‘आज त बिरामीले खाने जस्तो राम्रो फल मासु ल्याउनुभएछ नि’ श्रीमतीले भनिन् । ‘पहिलो पटक किन्न गएको भएर सधैँ म आज मासु किनेको पसलमा किन्न जान्छु भनेर राम्रो मासु दिएको हुन सक्छ’ मैले भनेँ । मेरो कुरा सुन्न नपाउंदै श्रीमतीले ‘अब अर्को दिन मासु किन्न जाँदा अर्कै नयाँ पसलबाट किनेर ल्याउनु नि त’ भनिन् ।
पसलबाट किनेर ल्याएको मासुको हड्डी, छाला र बोसो बिरामीले खान हुने नभएपछि खेर फाल्नुको सट्टा घरको छतमा लगेर कागले आएर खान्छ भनेर राखेँ । छतमा राख्न नपाउँदै काग मासुको गन्धले कराउँदै आयो र हड्डी, बोसो र छाला टिपेर लगेपछि मेरो मन निकै खुसी हुन पुग्यो ।
सामाखुसी, काठमाडौँ