बलराम तिम्सिना युवा पुस्ताका निकै सशक्त कवि प्रतिभा हुन् । उनका कविताले नेपाली समाजको वर्गीय असमानतालाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नपोल्ने रोग’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालका निम्न वर्गीय नेतृत्व समाल्छौँ भन्ने कम्युनिस्ट पार्टीमा आएको विखण्डन र कमजोरीको निकै विम्बात्मक रूपमा अभिव्यक्त गरिएको छ । -सम्पा. |
जो आफूलाई लोकतान्त्रिक हौं भन्छन्
तिनीहरूलाई
आफ्नो दल निरङ्कुश भएको कुराले पोल्दैन
जो आफूलाई वामपन्थी हौँ भन्छन्
तिनीहरूलाई
आफ्नो दल चरम दक्षिणपन्थी भएको कुराले पोल्दैन ।
झन्डा उठाएर लोकतन्त्रको
नारा लगाएर लोकतन्त्रको
लोकतन्त्रकै बलात्कार गर्दा
तिनीहरूलाई पोल्दै पोल्दैन
बरु उत्तेजना हुन्छ÷आनन्द लाग्छ ।
झन्डा उठाएर साम्यवादको
गीत गाएर यु जे पोत्तरको
साम्यवादकै मार हान्दा
तिनीहरूलाई पोल्दै पोल्दैन
बरु मजा आउँछ
बरु दशैं आएझैँ लाग्छ ।
जो आफूलाई राष्ट्रवादी हौँ भन्छन्
तिनीहरूलाई
आफ्नो दल प्रमुखको नागरिकता
संदिग्ध भएकै कुराले पोल्दैन
तिनीहरूलाई
भ्यागुतो बनाएर देशलाई
साप बनेर विदेशीले
निलिरहेको कुराले पोल्दैन
भ्यागुताको ’च्याँ च्याँ’ जस्तै
देशले गरेको
’गुहार गुहार“को पुकारले पोल्दैन
तिनीहरूको चरो मुसो बोल्दैन !
देशको झन्डा ओढेर
देशकै हुर्मत लिँदा पनि
तिनीहरूलाई अपराधबोध हुँदैन
बरु गौरवबोध हुन्छ
एउटा नागरिकता खल्तिमा
अर्को नागरिकता दराजमा राखेर
देशको उद्धारकर्ता बनेको नाटक गर्दा
तिनीहरूलाई यत्ति पनि पोल्दैन !
यस्तो नपोल्ने रोग कसरी लाग्छ ?
यस्तो नपोल्ने रोग कसलाई र किन लाग्छ ?
र दुख्न र पोल्न छोडेपछि
मान्छे र मुर्दामा के फरक रहन्छ ?
काठमाडौँ