मान भुलेल (तनहुँ, २०१९) नेपाली समाजमा बहुमुखी परिचय बनाएका प्रतिभा हुन् । उनी अध्ययन र जागिरका सिलसिलामा देश विदेशका विभिन्न ठाउँमा पुगेका छन् । हाल सानेपा ललितपुरमा बसोबास गर्दै आएका भुजेलको वास्तविक नाम मानबहादुर भुजेल हो । उनी पेसाले सिभिल इन्जिनियर हुन् । उनी सामाजिक एवम् साहित्यिक अभिरुचिका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थामा २८ वर्षभन्दा बढी सेवा गरेका छन् । उनले स्कुले जीवनमा नै केही फुट्कर लेख, कथा र कविताहरू लेखेका थिए । उनी वि.सं. २०४६–२०४७ तिर साहित्य लेखनमा बढी सक्रिय रहेको पाइन्छ । सुरुमा समालोचना दैनिकमा लेख प्रकाशित गरेर साहित्यिक लेखनको यात्रारम्भ गरेका उनी पछिल्लो चरणमा मुक्तक, कविता तथा बालकविता लेखनमा सक्रिय रहेका छन् । विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा उनका मुक्तक तथा बालकविताहरू प्रकाशित भएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तकहरू प्रकाशित छन् । यी मुक्तकमध्ये एउटाले वर्तमान राजनीतिप्रति व्यङ्ग्य गरेको छ भने अर्कोले प्रेमप्रणयको विष्यालाई आत्मसात गरेको छ । -सम्पा. |
सुनको हात्ती
ढाँटेको कुरा फाटेको लुगाले इज्जत नबेरिने रहेछ
समयले हद पार गरेपछि लाज फलेको नभेटिने रहेछ
मान्छेमा नैतिकता र बिस्वासको खडेरी परेपछि
भन्सारबाट सुनको हात्ती छिरेको पनि नदेखिने रहेछ ।
मुटुमा छुने
किन कुनै भेट प्रथम र अन्तिम हुने रैछ
किन कुनै छुट्दा आंशुले आँखा धुने रैछ
धेरै मान्छे आउँछन जान्छन, जिन्दगीमा
कोही कसैले मात्रै यो मुटुमा छुने रैछ ।
तनहुँ, हाल ललितपुर