राजकुमार बराल (२०४०, इलाम, जीतपुर गाउँ ४, हाल देउमाइ नगरपालिका ९) कविता, समालोचना र आनुवादका क्षेत्रमा कलम चलाउँदै आएका प्रतिभा हुन् । उनले स्कुल जीवनदेखि नै कविता यात्रा सुरु गरेका हुन् । अङ्ग्रेजी साहित्य अध्ययन अध्यापन सँगसँगै समालोचनामा कलम चलाइरहेका बरालले नेपाली कवितालाई अनुवाद गरेर विश्वसामु परिचित गराउने प्रयत्न गरेका छन् । उनले जीवन, मृत्यु, माया, प्रेम जस्ता विविध विषयवस्तुका साथसाथै वर्तमान समाजले भोगिरहेका बेरोजगारी, अशिक्षा, उत्पीडन, गरिबी जस्ता समस्याहरू र तिनले समाजमा पारेका प्रभावलाई आफ्ना कवितामा उतार्दै आएका छन् । हाल अमेरिकाको द युनिभर्सिटी अफ टेक्सासमा विद्यावारिधि अध्ययनरत बरालको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘जिन्दगीको गणित’ शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनका सुखदुःखलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
तिम्रो उदासिनता पागलपन हो काली !
बैराग्य, निरसता
एक्लोपना, द्विविधा सब प्रपञ्च
प्रत्येक दिन
भित्ताहरूमा बहुरूपमा देखिने तिमी
फगत एक नाटककी पात्र हौ ।
तिमी दुईजिब्रे हौ काली !
जीवनसँग बुर्कुसी मारिरहेकी तिमी
अनाहकमा बहकिन्छ्यौ
दुःखको अभिनय गर्छ्यौ र
अवतारी बनेर
भित्ता रङ्गाइरहन्छ्यौ ।
तिमी गणितमा कमजोर छौ काली !
इलामको बाटो जस्तो
जिन्दगीको गणित
न त भित्तामा पोखिएको प्रतिक्रिया जस्तो छ
न कुनै नाटकको अभिनय जस्तो ।