सोम निरौला शास्त्रीय लयमा सुललित कविता लेख्ने विशिष्ट युवाकवि हुन् । उनको परिचय साहित्यसागरका समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको देवकोटालाई विषय र विम्ब बनाएको देवकोटा’ शीर्षकको कविता समेटिएको छ । -सम्पा. |
तिमी दक्ष केलाउँछौ बिन्दु बिन्दु
तिमी ज्ञान विज्ञानका एक सिन्धु
दुई नेत्रमा हुन्छ मेरो बुझाइ
कहाँबाट नापूँ म तिम्रो उचाइ
सयौं दुःख पीडाहरू झेल्न सक्ने
बृहत् विश्व ब्रह्माण्ड पर्गेल्न सक्ने
तिमी शारदा पुत्र साहित्य रत्न
सकेसम्म बुझ्ने छ मेरो प्रयत्न
तिमी भावमा पौडिने पौडिबाज
तिमीबाट सिक्दै छ मेरो समाज
तिमी उच्च आदर्श व्यक्तित्व एक
तिमी एक आयाम तिम्रा अनेक
कला भिन्न देखिन्छ तिम्रो मसीमा
जगत् पूर्ण जाँचिन्छ तिम्रो कसीमा
तिमी शब्द शिल्पी कलाकार उच्च
मिले स्पर्श तिम्रो महान् बन्छ तुच्छ
तिमी एक डुङ्गा जहाँ भाव तर्छन्
तिमी प्रेमगङ्गा जहाँ शब्द बग्छन्
तिमी एक थुङ्गा जहाँ भृङ्ग चुम्छन्
तिमी कोश भाषा र शब्दार्थ झुम्छन्
तिमी काव्यका सिन्धु हौ देवकोटा
दिई रित्तिएनौ दुईचार लोटा
सबै बाड्न सक्ने तिमी एक दानी
लगिस् काल तैंले कि उत्कृष्ट ठानी
सयौं रोगले ग्रस्त देखिन्छ भाषा
तिमी सक्दछौ थप्न विश्वास आशा
सुकेको छ साहित्यको वाग लाऊ
मिले एक मौका तिमी फेरि आऊ ।