दुष्यन्त भट्टराईको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी पेसाले इन्जिनियर भए पनि देश विदेश जहाँ रहे पनि निरन्तर नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । उनी मूलतः सुमधुर शास्त्रीय छन्दका कविता रचनामा लागिरहेका छन् । यहाँ उनको ‘लाग्छौ तिमी ईश्वर झैंँ मलाई’ शीर्षकको देवकोटालाई विषय र विम्ब बनाइएको कविता समेटिएको छ ।
-सम्पा. |
लक्ष्मी उठ्यौ काव्य विधान बुन्दै
सौभाग्य शब्दाक्षरले उधिन्दै
लेख्यौ नयाँ काव्य सुधा मिलाई
स्वदेशको माथ उँचो बनाई ॥
संस्कार लेख्यौ समभाव लेख्यौ
आत्मा हुँडल्ने मनभाव लेख्यौ
गर्यौ मुनाका मनका बयान
शकुन्तलाका नयनाभिराम ॥
तिम्रा कथामा जब पस्न पाएँ
आफू स्वयम् पात्र बनेँ हराएँ
शकुन्तला जीवनले रुवायो
सुलोचनाले मन धर्मरायो ॥
मान्छे स्वयम् जे पनि भन्न सक्छ
सत्कर्मले ईश्वर बन्न सक्छ
बन्यौँ भने सेवक दु:ख पर्दा
भेटिन्छ स्वर्गाश्रम हेर मर्दा ॥
थियौ महासागर काव्यभित्र
बग्यौ नदी अक्षरमा पवित्र
यात्री बन्यौ जीवन चैत्यभित्र
देखाउँदै मानिस यो विचित्र ॥
संज्ञानको सौरभ मार्गलाई
बताउँदै हेर समाजलाई
बाँच्यौ तिमी पर्वत दु:ख देखी
हाँस्यौ तिमी हर्ष कतै नलेखी ॥
जन्म्यौ तिमी मानिस रूप पाई
लाग्छौ तिमी ईश्वरझैँ मलाई
सुकाव्यका पारस रत्नलाई
श्रद्धाञ्जली यो कविता सुनाई ॥