आर आर चौँलागाईं (२०१८, चैत्र ११ सुन्दरीपुर, सिन्धुपाल्चोक, सुपुत्रः यमुनादेवी चौँलागाईँ र इन्द्रप्रसाद चौलागाईं) नेपाली साहित्यका क्षेत्रमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनका सामन्तीलाई चिठी (२०३७), नौलो विहानी (२०३७), जिउँदा मानिसहरू (२०४३), बन्धनभित्रका अभिव्यक्तिहरू (२०४६), तुवाँलो भित्र र तुवाँलो बाहिर (२०५४), कविता लेख्नु निरर्थक हुन्छ (२०४६), आस्था रोपेर मनका गराहरूमा (२०६०), चास्स चुस्स (संयुक्त, २०५२), यात्राका गीतहरू (गीत, २०५३) जस्ता महत्वपूर्ण कविता विधा केन्द्रित कृति प्रकाशित छन् । उनका सम्पादनका कृतिहरू पनि उल्लेख्य छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लघुकथा शीर्षकको लघुकथा समेटिएको छ । उनको यस लघुकथाले राजनीतिज्ञहरूको साहित्यप्रतिको दृष्टिकोणलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
राष्ट्रियस्तरको साहित्य गोष्ठी । वरिष्ठदेखि कनिष्ठसम्मका साहित्यकारहरूको अपूर्व जमघट । उनी कार्यक्रमका प्रमुख अतिथि । उनी अर्थात् ठूला राजनीतिज्ञ परोपकारप्रसाद पण्डित । कार्यक्रमका मुख्य आकर्षणहरू- कवितावाचन, अभिनन्दन, पुरस्कार वितरण, भाषण, जलपान आदि ।
कविहरू कविता वाचन गर्छन् । कोही दोसल्ला ओढ्छन् । कोही पुरस्कार बटुल्छन् । प्रमुख अतिथिको आसनबाट परोपकारप्रसाद पण्डित जोडदार भाषण गर्छन्- “…साहित्य समाजको दर्पण हो । साहित्यको विकास नभई देशको विकास हुँदैन । साहित्यकार राष्ट्रका सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिलाई हामीले तिरस्कार हैन सम्मान गर्नुपर्छ…।” उनको भाषणबाट सबै जना धन्यधन्य हुन्छन् ।
परोपकार प्रसाद पण्डित गृह प्रवेश गर्छन् । पुग्नासाथ सात कक्षामा पढ्ने उनको छोरो अँगालोभरि पुरस्कार बोकेर उनको अगाडि आउँछ र खुसी हुँदै भन्छ- ” बाबा ! बाबा ! आज स्कुलको कविता गोष्ठीमा म प्रथम भएँ ।”
उनी हतप्रभ हुन्छन् र छोरालाई गाली गर्छन्- ” छोरा ! तँ त मजस्तै नेता पो हुनुपर्ने । कसरी कवि भइस् ? तँ बिग्रिस् छोरा अब !”
छोरो ट्वाल्ल परेर उनलाई हेरिरहन्छ ।
हेटौँडा