कुञ्जल शुभेच्छु लुइटेल बाल प्रतिभा हुन् । उनी निरन्तर बाल साहित्यका पुस्तकहरूको पाठक प्रतिक्रिया लेखनका साथै कविताहरू लेखिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हाम्रो प्यारो दशैँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले बालबालिकाका आँखामा दशैँ कस्तो हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । -सम्पा. |
चाडमध्ये प्यारो लाग्छ
हाम्रो प्यारो दशैँ
सकिँदैन बसिराख्न
घुम्न कतै नगै ।
नयाँ रङ लगाएर
घर भयो खुसी
नयाँ नाना लगाएर
मानिस भए खुसी
सबैसँग भेट गर्दा
म पनि छु खुसी ।
बुबा आमा काका काकी
मामा माइजूबाट
हजुरबा र हजुरआमा
दाजु दिदीबाट
टीका थाप्ने दिन आए
सबै खुसी भए
दशैँ दशैँ आयो
भन्दै खुसी भए ।
साथीसँग घुम्न जाने
पिङ मच्चाउने
पहाडका ढुङगा चढी
मालसिरी गाउँने
मालसिरी कति मिठो
दुःख बिर्साउने ।
मामाघर पनि जाने
पहाड मदेश जाने
जहाँ जहाँ जे जे मिल्छ
मिठो मिठो खाने
राम्रो राम्रो लगाएर
दशैँ मनाउने ।
चाडबाड अरू भन्दा
ठुलो हुन्छ दशैँ
लामो विदा भेटघाट हुन्छ
र त प्यारो दशैँ ।