जानुका ढुङ्गेल (झापा) लोकलयमा निकै राम्रा कविता रचना गर्ने प्रतिभा हुन् । उनका रचना केही अनलाइन पत्रपत्रिकामा देखिएका छन् । कृतिगत रूपमा प्रकाशनमा आइनसकेकी यी प्रतिभाको निरन्तर सिर्जन सामर्थ्य निकै लोभलाग्दो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘दशैँ आयो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दशैँका रमाइला पक्षलाई समेटेको छ ।
-सम्पा. |
आयो है दशैँ सम्झना आउँछ चिउरा कुटेको
भिजाइ धान दुई रात राखी हाँडीमा भुटेको
त्यो रातो माटो कमेरो खोज्दै हिँडिन्थ्यो गाउँदै,
सबै काम आफै गरिन्थ्यो त्यहाँ परम लाउँदै ।
दुई बीस पूरा भए छ आज छोडेको त्यही ठाउँ
जुनसुकै सहर पुगे नि मता बिर्सिन्नँ त्यही गाउँ
ठेकीको दही ती झप्री केरा चिउरा कुटेको
खल्पी अचार त्यो धुले अचार फिलुङ्गे भुटेको ।
नाइटे ज्यामिर साँधेर खान्थ्यौँ थापेर पातमा
रमाइलो गर्दै पिङ खेल्न जान्थ्यौँ जुनेली रातमा
आउँदैन त्यो दिन फर्केर फेरि गइसको उमेर
त्यो बेला जस्तो रमाइलो बेला फर्कन्न घुमेर ।
दशैँ त मैले धेरै ठाउँ मानेँ स्वदेश विदेश
बालपन जस्तो रमाइलो हुन्थ्यो र विदेश
नबिर्सौं हामी इतिहास हाम्रो जोगाऊँ सस्कृति
दशैँ को नाम मनपरी विधि नभित्रियोस् विकृति ।