कृष्णराज अधिकारी नेपाली समीक्षा र सिर्जनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको दशैँलाई विम्ब र विषय बनाएको ‘दिन नसकेको शुभकामना’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आलोचनात्मक दृष्टिले दशैँलाई विषय र विम्ब बनाएको छ । -सम्पा. |
बाबु-बाजेले दिने आशीर्वादभन्दा धेरै अघि बढेर
फेसबुक, अमेजन, गुगल र एप्पलहरूले भरिदिएको
भारी मस्तिष्क प्रयोग गर्दै
वर्षौँदेखि दिँदै आएँ
अनेकौँ चाडबाड र पर्वहरूमा
सुख र समृद्धिका अनेकौँ शुभकामना !
तर, कुनै काम गरेन मेरो निरीह शुभकामनाले
कुनै शुभ गरेन मेरो उदात्त कामनाले !
काम गर्थ्यो भने सानो अंश मात्रै यसले
रहने थिएन यहाँ अभाव र गरिबी
खडा हुने थिएन विभेदको पर्खाल
रहने थिएन अन्यायको अनन्त शृङ्खला !
विश्वमै धेरै चाडपर्वहरू भएको यो देश
विश्वमै धेरै शुभकामना पाउने यी नेपाली
बन्ने थिएनन् विश्वमै दु:खी, पीडित र विपन्न
भोग्नु पर्दैनथ्यो यातना र सास्ती !
पीडाको पोखरीमा डुबिरहेकालाई
मेरो शुभकामनाले
कत्ति मद्दत गरेन उत्रनलाई
कुनै प्रेरित गरेन मुक्त हुनलाई
बरु पुराणका मिथक सम्झाउँदै
पीडकलाई आदर्श मान्न लगायो !
धितो राखेर घरबारी
खाडी छिरेको वर्षदिनमै
बाकसमा लास बनेर आउँदा
शोकाकूल र विक्षिप्त परिवारमाथिको
मेरो शुभकामना
सधैंभरि शूल बनेर डसिरह्यो !
बोकेर पिठ्यूँमा चार महिनाको बालक
गिट्टी कुटिरहेकी खोला किनारकी आमालाई
मेरो शुभकामनाले
गरिरह्यो खालि उपहास र व्यङ्ग्य !
बलात्कृत गर्भ बोकेर
भाैंतारिइरहेकी युवतीलाई
पीडा बनेर पछ्याइरह्यो मेरो शुभकामना !
रोग, भोक,पीडा र शोकमा डुबेकालाई
उठ्न र उत्रनभन्दा
डुब्न र रमाउन लगायो
सङ्घर्ष गर्न र अघि बढ्नभन्दा
सन्तोष र आनन्द लिन सिकायो
मेरो शुभकामनाले
यथास्थितिमै रम्न सिकायो !
बरु उल्टो गर्यो मेरो शुभकामनाले
शुभ गर्यो उत्पीडक र फटाहाहरूलाई
साथ दियो भ्रष्ट र विचौलियालाई
क्षमा दियो हत्यारा र बलात्कारीलाई
अनि, उपहास गर्यो श्रमिक वर्गलाई !
यसैले, यो डिजिटल युगमा
व्यापारको उपकरण
अनि, बजारको माल बनेर
आएको शुभकामना
यसपाली मैले बाँड्न सकिन
शुभकामना, मैले दिन सकिन ।