प्रह्लाद पोखरेल नेपाली कविता परम्पराका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकोको छ । यस शृङ्खलामा उनको दशैँसम्बन्धी एउटा कविता रचना समेटिएको छ । यस कविताले निम्न वर्गीय परिवारको दशैँ र सङ्घर्षलाई समेटेको छ । -सम्पा. |
१.
एउटा हातले बोको घिच्याएको मरीमरी
नाम्लाले बोझिलो पोको बोकेको छ उसैगरी
हेर्दा यो दृश्य देखिन्छ साधारण ठिकै तर
दृश्यको गहिरो अर्थ खै कल्ले बुझ्न सक्छ र ?
२.
स्वास्नी हिँडिरहेकी छ गहिरो कल्पनासित
लोग्नेको मुख देखिन्छ उदास अनि चिन्तित
एउटा हातमा हर्पे, अर्कोमा सिर्कनो लिई
अनुगामी बनेको छ मन-कर्म दुबै दिई।
३.
ढाड कुप्री परेको छ फ्याङ्ला चप्पल छन् दुई
कुर्कुच्चाले चुमेका छन् पीच बाटो तथा भुइँ
जोई-पोइ दुबै यात्री कर्मी हुन् कि किसान वा
पाइला सुस्तरी चल्छन् निर्दिष्ट अभियानका।
४.
रिन काढी किने होलान् बोको, पोको दुबै कि त !
अमूल्य पसिना बेचे मूल्यहीन कुरासित !
नत्र ता चाउरी पारी निधारै खुम्चियो किन?
हान्यो जीवनले कोर्रा ताकी घुच्चुकमा कि न ?