कवि शिरोमणि लेखनाथ पौड्यालको जीवनीका साथै उनको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकेको छ । यहाँ दशैँ विशेष रचना शृङ्खलाको पहिलो कविताका रूपमा उनको कविता समेटिएको छ । यस कविताले बालसुलभ शैली र भाषामा दशैँको महत्त्व उजागर गरेको छ । -सम्पा. |
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
जता जाऊँ सबै भन्छन्
दशैँ आयो दशैँ आयो
यही आनन्द चर्चाले
सबै सङ्कट बिर्सायो ।
ठूला साना सबैलाई
दशैँ अत्यन्त राम्रो छ
चलेका जाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ ।
सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दङ्ग
सबैको देखिँदै आयो
उज्यालो चेहरा रङ्ग ।