सोम निरौला निरन्तर एकपछि अर्को कृति लिएर कविता विधामा स्थापित बनिरहेका छन् । उनको परिचय र केही रचना साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेका छन् । यहाँ उनको ‘गरे चित्र कोर्नेहरूले विचित्र’ शीर्षकको कविता समेटिएको छ । यस कविताले गुलावी व्यङ्ग्यसहित राजनीतिक विसङ्गतिको विरोध गरेको छ । -सम्पा. |
यता गाउँमा छैन कोही मलामी
अझै खोज्छ नेतृत्व छड्के सलामी
छ गाह्राे अवस्था बिरामी छ देश
मनोरोगले ग्रस्त छन् यी विशेष
१
स्वयम् सप्रिए जिन्दगानी बनाए
यहाँ लूटको राजधानी बनाए
सयौं वीरको भावनामाथि खेल्दै
थियोे देश यौटा खरानी बनाए
२
जता जान्छ दुःखी उतै लाग्छ ऐन
ठुलाठालुलाई जहीँ चैन चैन
व्यवस्था नयाँ हो अवस्था पुरानो
यहाँ बाँच्न गाह्रो छ दुःखी र सानो
३
हुँदा लाभ सम्बन्ध गाढा हुने हो
रुँदा दुःखले विश्व टाढा हुने हो
यही हो यही हुन्छ तर्सेर हुन्छ ?
हली हच्किए गोरु छाडा हुने हो
४
कहाँ मिल्छ हाँसो उठाएर चन्दा
यहाँ फूलबारी भएको छ गन्दा
दुईचार ढल्छन् सयौँ उच्च बन्दा
निराशा ठुलो मृत्यु हो मृत्युभन्दा
५
यही चालले देश बन्दैन मित्र
गरे चित्र कोर्नेहरूले विचित्र
बिसाई यहीँ वेद गीता नमाज
छिटो उठ्नुपर्ने भएको छ आज
६