भुवनहरि सिग्देलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । त्यसयता उनका दर्जनौँ सिर्जना यहाँ समेटिइसहेका छन् । प्रस्तुत शृङ्खलामा उनको दृश्य शीर्षकको कविता समेटिएको छ । यस कविताले मानव स्वार्थलाई व्यङ्ग्य गर्दै चिताको प्रश्नलाई अगाडि सारिएको छ । शिखरिणी छन्दमा संरचित यस कविताको कलात्मक पक्ष निकै विशिष्ट छ ।
-सम्पा. |
मलामी जन्तीमा कविजन सभामा बहसमा
सँगै घुम्ने डुल्ने अपरिचित यात्रा लहडमा
खुसी मान्दा हास्यौँ कतिपटक रोयौँ विरहमा
गयो मेरो साथी लय नबुझिने शून्य लयमा ।
गृहस्थीमा रम्दा घर जमिन उम्दा कति थिए
उधारो पैँचोमा करभर दिने वान्धब थिए
बिदा माग्दै हाँस्यो कुटिल तुलसीका मठनिर
गएँ मेरो बाटो यसपछि छ तिम्रो अघि सर ।
त्यहीँ छोरा पत्नी वरपर थिए स्वार्थभरका
निरुत्साहीजस्तै मलिन मुख सन्तान घरका
सबै पालो कुर्ने तर नजिकमा छैन कि भनी
मलामी भन्दै थे कुशल शवयात्रा चल भनी ।
हजारौँ मान्छेका उछलकुदमा हुन्छ दुनियाँ
नजाने को होला मन छ यसरी जान्छु म कहाँ ?
चिता हाँसी सल्क्यो गफ विविधमा मस्त दुनियाँ
खरानी मात्रै हो ध्वनि रणनका राग मुनियाँ ।
थियो कालोमैलो बगर समिधा शेष छ धुवाँ
फुटेका घैँटा छन् छरबर जलेको जमिनमा
करोडौँ जाने यो परिचित चिता हाँस्दछ किन ?
तिमी सक्छौ साथी सहज यसको उत्तर दिन ?