निर्जला लम्साल नुवाकोटकी चेली हुन् । घरमा उनले साहित्यिक वातावरण पाइरहेकी छिन् । त्यसैले सानै उमेरमा पनि उनको कलम सशक्त बनेको छ । साहित्यसागरको यस श्रृङ्खलामा उनको ‘मुनाको पर्खाइमा मदन’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । कविताले ‘आधुनिक’ नेपाली मुना र मदनको विवशता देखाएको छ । मुना रोजगारीका लागि विदेश जान बाध्य छिन् भने घरमा बाँझो जमिन भएको छ ।
-सम्पा. |
मुना !
आँखामा तिम्रो झझल्को छ
छातीमा तिम्रै यादहरू छन्
ओठमा तिमीले जाँदाजाँदै छोडेको मुस्कान छ
र, म छु
तिमीलाई पर्खिरहेको मदन ।
मझेरी यही हो
जहाँ तिम्रा चुरा बजेको आवाज आउँथ्यो
आँगन यही हो
जहाँ तिम्रो पाउजूको झंकार सुनिन्थ्यो
पिँढी यही हो
तिमीले हरेक बिहान लिपपोत गर्ने
मुना !
बाँच्ने त फगत यादहरू रहेछन्
म तिम्रा यादहरू बोकेर
आधा जिन्दगी बाँचिरहेको छु ।
बाँझो करेसाबारी हेर्छु
र सम्झन्छु
तिमीले उमारेका बिरुवाहरू
छाम्छु खण्डहर घरको भित्तो
र हेर्छु काटिएका आफ्नै दुबै खुट्टा
साहारको एउटै बैशाखी पनि परदेसिए पछि
बाँकी छ केवल बगरजस्तो वर्तमान
र पैह्रो गइरहने अतित ।
सम्भावनाका पालुवाहरू पलाउँदैछन्
डालीहरूमा
सपनाका कोपिलाहरू फक्रँदैछन्
आँगनको डिलमा
यहीँ छरौँला समृद्धिको बिउ
पसिनाले सिँचेर उमारौँला
खुसीको फसल
सम्पतिले खुसी नदिने रहेछ
रुपैँयाले सन्तोष नमिल्ने रहेछ
मुना !
आँसु रोकेर आँखामा
तिम्रै बाटो हेरिरहेको छु ।
फर्क मुना !
अब आफ्नै माटोमा फर्क !
मैले मात्रै हैन
यो देशले पनि
तिमीलाई पर्खिरहेको छ ।