शेखरकुमार श्रेष्ठ सिर्जना र समीक्षाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । साहित्यसागरका उनका समीक्षा र लघुकथा रचनाहरू प्रकाशन हुँदै आएका छन् । यहाँ उनको विद्यालय’ शीर्षकको किवता समेटिएको छ । यस कविताले विद्यालय व्यापारमुखी बन्दै गएकाप्रति चिन्ता गर्दै विद्यालय विद्यालय जस्तो बन्नुपर्ने धारणा राखेको छ ।
-सम्पा. |
विद्यालय कान्जिघर नबनोस्
जहाँ खान नपाएर
किलामा टुरिएका पशु
फाल हालेर एक्कासि
बालीमा रगबगिँदा
हरिया बालीभित्र पस्दा
यातनापूर्वक
थुनेर राखिन्छ
अनि
मालिकलाई जरिवाना तिराउनका लागि
घाँस न पानी
दाना न पराल थुनेर राखिन्छ ।
विद्यालय
वधशाला पनि नबनोस्
जहाँ मांसप्रेमीको आहाराका लागि
बगरेले खेलाइ खेलाइ
जनावरको मस्तिष्क र शरीर छुट्याए झैँ
मासुका पुञ्ज पुञ्ज झिकेर
पैसामा अङ्गलाई
स्वादअनुसार टुक्रा टुक्रा भाग लगाइन्छ
आलो रगत र मासुलाई
काम नलाग्ने भन्दै
माटो र खरानीमा लतपतान्छ ।
विद्यालय पक्षीप्रेमीले
आफ्नो सोखका लागि
घरमा दाना र पानी खान दिएर पाल्ने
पिँजडाको चरा पनि नबनोस्
जसले वनमा स्वच्छन्द भएर डुल्न पाउने
पखेटाको अधिकार हनन होस् ।
विद्यालय चिडियाघर पनि नबनोस्
जहाँ टिकट काटेर मात्र
पशु र पक्षीको स्वभाव
आकार, प्रकार, रङ, रूप
हेर्न पाइन्छ
विद्यालय पढ्ने थलो पनि नबनोस्
जहाँ सिक्ने नाममा
घोक्ने र कण्ठ गर्ने काम हुन्छ
र पानी तलतिर किन बग्छ भनी सोध्दा
बोली बन्द हुन्छ
अनि किताबमा यही लेखेको छ भन्ने जवाफ आओस् ।
विद्यालय त त्यस्तो थलो बनोस्
जहाँ घरपालुवा जनावरले जस्तो खानका लागि
मालिकको भर पर्न नपरोस्
बरु जङ्गली बाघले झैँ
वन नै थर्काएर आफ्नो दानापानी खोजोस्
आफ्ना शत्रुहरूलाई परास्त गर्न सकोस्
आफ्ना लागि र आफ्ना वंशका लागि
कसरी बाँच्ने र बचाउने भन्ने कुरा सिकोस्
जहाँ चिडियाहरूले झैँ समय परिवर्तन भएको थाहा पाई
मान्छे ब्युँताउने गीत गीत गाउन सकोस्् ।
त्यसैले विद्यालय
मानवको इतिहास बनाउने स्थल होइन
मानवता बनाउने थलो बनोस् ।
विद्यालय त ठेकी बनोस्
जहाँ दुधबाट दही भइसकेका
विद्यार्थीहरूलाई मथेर घिउ बनाउन सकियोस्
चिज बनाउन सकियोस्
जसलाई दीर्घकाल प्रयोग गर्न सकियोस् ।