विनयकुमार शर्मा नेपाल* साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनका चार वटा मुक्तक रचना समेटिएका छन् । यी रचनाले मानवीय सम्बन्ध र दृष्प्रवृत्तिलाई देखाएका छन् ।
-सम्पा. |
कस्तो अचम्म !
जोसँग जिन्दगीको नातै रहेन ऊ आफ्नो दुष्कर्मको दोष मलाई लगाउँछ
जोसँग व्यापारमा खातै रहेन ऊ आफ्नो दुष्कर्मको खोट मलाई लगाउँछ
दोष खोज्न फर्केर हेरे देखिन्छ कि अनुहार ऐनामा ? नौरङ्गी नाटकीयता !
जोसँगको यात्रामा थातै रहेन ऊ आफ्नो दुष्कर्मको चोट मलाई लगाउँछ ।
मान्छे हेर्दा
मान्छे हेर्दामा जे देखिए त्यो हुँदैनन्
मान्छे भेट्दामा जे भेटिए त्यो हुँदैनन्
फरक हुन्छ भित्री गुह्य हरेकको क्षुद्रे
मान्छे लेख्दामा जे लेखिए त्यो हुँदैनन् ।
बाँच्न जाने जिन्दगी श्रीखण्ड
बाँच्न जाने जिन्दगी श्रीखण्ड, नत्र खुर्पाको बीँड जस्तै नेल हो
लोभ, लालच, कुण्ठा, हीनता गिँड्नु पनि नेल जस्तै खेल हो
सन्तुष्टि लिन जान्नुपर्छ, जानेमा मिल्दछ थोरैमा पनि आनन्द
ऐश-ऐश्वर्य, बुद्धि-विवेक र बल पनि मात्र क्षणिक भेल हो ।
पद सानो सपना ठूला
पद सानो तर सपना भने ठूला छन् हाम्रा
मद सानो तर जपना भने ठूला छन् हाम्रा
सपना देख्नु ठीक तर रातैमा देख्नु बेठीक
कद सानो तर स्वःपना भने ठूला छन् हाम्रा ।
*सच्याइएको