नवराज लम्साल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सुन्दरताको मदिरा शीर्षकको कविता समेटिएको छ । यस कविताले मन मिल्ने मानिससँगको भेटले ल्याउने प्राकृतिक र मनोवैज्ञानिक परिवर्तनलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
बिहानै तिमीलाई भेटेपछि
भर्खर उदाएको घाम हो
या अस्ताउन बिर्सेको जून
टेवुलमा मसँगै बसेर कफी पिउँदै थियो –
हाँसो देख्दा हाँसिरहोस् जस्तो
बोली सुन्दा बोलिरहोस् जस्तो
तर एकै चोटि कहाँ पाइन्छ र
चिची पनि पापा पनि ।
आकाश लोभ गरेर नीलो मुख मिठ्याउँदै थियो
वादल डाहाले कालो भएर वर्साउँदै थियो पानी
फूल गमलाबाट हाम्फालुँला झैँ हल्लिरहेका थिए नजिकै
मैले आकाश, वादल र फूलबाट हटाएर आफ्नो आँखा
हेरिरहेको थिएँ – उसैको आँखा
कालो किनाराले बेरिएर चञ्चल थियो एउटा समुद्र
र म आफैँ पनि त्यहीँभित्र पौडिरहेको थिएँ –
सहर थियो सहरकै लहरमा
सडक मगमग थियो यात्रामा
भीडहरुमा छरेर अन्तरज्योति
एउटा सुन्दरता उभिएको थियो – धर्तीको छातीमा
र त्यसैले हल्लायो धर्ती बेसरी
भागे भूकम्प भनेर सबै भागे
तर म त्यो सुन्दरता छोडेर भाग्न सकिनँ
शरीर हल्लियो तर मन हल्लेन
र मैले हेरिरहेँ त्यही सुन्दरता
र
पिइरहेँ सुन्दरताको मदिरा कफीको कपमा ।