गोकर्ण खड्का (मन्थली २ रामेछाप) समकालीन पुस्ताका कवि एवम् गीतकार हुन् । उनको असार मास’ कविता साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ । यस कविताले असार किसानका लागि सपना बुन्ने र मेहेनत गर्ने महिना भएको कलात्मक रूपमा बताएको छ ।
-सम्पा. |
(१)
असार आयो झरीले धायो मनसुनमा रमायो
कुलोलाई टाली सजाई आली गह्रामा जमायो
हातलाई चोप्दै धानलाई रोप्दै सपनी बुनौँला
हिलो त्यो बाटो पवित्र माटो संगीत सुनौँला ।
(२)
असारे गान रोपेर धान रमाउँला खेत बारी
झुलेर बाला सङ्कटको ताला खोलेर नर नारी
किसान दाजै गोडेर आजै बहेली त्यो राम्रो
असारे बेला रमाइलो मेला हर्ष छ मन हाम्रो ।
(३)
घाम र पानी सुन्दरी नानी हाँसोमा लजाउँछिन्
झुलेर फल शीतल जल सङ्गीत बजाउँछिन्
हिलो छ बारी कान्ले र टारी हातमा आँसी छ
हलो र कुटो बिउको मुठो कामको राशी छ
(४)
ङोलो र लुङ्गा फुलका थुङ्गा रमाइलो गाउँ मेरो
सुन्दर देश सुनौलो भेष नेपाल नाउँ मेरो
फुलेर राम्रो बगैंचा हाम्रो असारे मासमा
स्वर्गको सहर सबैको रहर छ देवताको पासमा ।
(५)
बोकेर काम्लो डोको र नाम्लो पसिना पुछेर
घाँस त्यो हरियो नाम्लो र बरियो पानीमा भिजेर
नुनको ढिक्का छुट्दछ हिक्का बाडुल्की लागेर
मुस्ली र मुङ्ग्रो आगोको भुङ्ग्रो आउँछ जागेर ।
(६)
हलो र जुवा मोही र पुवा मेलापात झरेर
बसिबियाँलो बालेर दियालो गाउँबेसी गरेर
दैनिकी भारी गैरी र टारी देउराली बनमा छ
ती बर्षगाँठ पुजा पाठ भगवान मनमा छ ।
(७)
कुडो र धुटो कोदालो कुटो बन गोठालो गएर
गुन्द्रीको तान मकैको घान ओरल्दै अर्नी खाएर
जङ्गार डुङ्गा सानी र लुङ्गा सहेली साथमा छन्
कान्लोलाई तासी फोरुवा आसी ठेला हातमा छन् ।
(८)
रन र वन एक्लो यो मन बसौ म कसरी
भिजेर चोली तरेर खोली आउछौ जसरी
दुखीको जात मेला र पात ओसार पसार छ
बित्दछ दिन जिन र तीन सधैको असार छ
मन्थली २ रामेछाप